शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
न्यूरोमा सिकारु चिकित्सकले शल्यक्रिया गर्दा रंजिताको मृत्यु
चैत्र ७, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ चैत्र ७ - 
उपचारको क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा एक सिरहाली महिलाको मृत्यु भएको छ। चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको मृतकका आफ्न्तले दाबी गरेका छन्।  देब्रे तिघ्राको हड्डी भाँच्चिएर उपचार गराउन गएकी सिरहा लहान नगरपालिका १९ छरापट्टिकी २५ वर्षीया रंजीता साहको उपचारको क्रममा मृत्यु भएपछि विवाद बढेको छ। फागुन २८ गते जनकपुरबाट एउटा विवाह समारोहमा सहभागी भएर फर्किने क्रममा श्रीमान वीरेन्द्र साह सहित जीप दुर्घटनामा परेकी मृतक साहको देब्रे तिघ्राको हड्डी भाँच्चिएको थियो।  उनलाई उपचारका लागि तत्कालै विराटनगर स्थित न्यूरो अस्पताल लगिएको थियो र अर्को दिन उनको तिघ्राको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया अघिसम्म सामान्य अवस्थामा रहेकी साहको शल्यक्रिया भएपछि अवस्था बिग्रिँदै गएको र मंगलबार दिनको १ बजे उनको मृत्यु भएको श्रीमान वीरेन्द्र साहले बताएका छन्। डाक्टर नविन कुमार कर्णले  शल्यक्रिया गर्ने सम्झौता भएपनि  सिकारु डाक्टर संजय यादव र सिलवन्त श्रीवास्तवले शल्यक्रिया गरेकै कारण बिरामीको स्वास्थ्य अवस्था बिग्रिएर मृत्यु भएको मृतकका श्रीमान वीरेन्द्र साहले आरोप लगाउदै लापरवाही गर्ने अस्पताल र सिकारु डाक्टर लाई कारवाहीको मांग गरेका छन्। 

हड्डी भाँच्चिएकै कारण मात्रले बिरामीको मृत्यु हुन नसक्ने मृतक पक्षले आरोप लगाइरहँदा अस्पताल प्रशासनले भने घटनामा चिकित्सक र अस्पतालको कुनै पनि लापरवाही नभएको दाबी गरेको छ। बिरामीको विशेषज्ञ चिकित्सक अर्थोपेडिक सर्जन डाक्टर सिलवन्त श्रीवास्तवले अप्रेशन गरेको अस्पताल पक्षले जनाएको छ। बिरामीलाई फ्युमर फ्याक्चर भएको र सोहीबाट फ्याटी इम्बोलिज्म भएर विरामीको मृत्यु भएको अस्पतालले जनाएको छ। तिघ्राको मोटो हड्डी भाँच्चिएपछि  हड्डीभित्र रहने बोनम्यारो नशामार्फत किड्नीमा गएको र सोही कारणले किड्नी फेल भएर बिरामीको मृत्यु भएको अस्पतालका अप्रेसनल डाइरेक्टर राजेश भट्टराईको भनाइ छ। उनले विधि र प्रक्रियाअनुसार नै बिरामीको उपचार गर्दागर्दै बचाउन नसकिएको दाबी गरेका छन्। मृतक रंजिताकी ३ वर्षीय एक छोरा रहेका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.