फिरोज शेख लहान २०७४ चैत्र १० -
तराई मधेशमा चैती छठपर्व धुमधामका साथ मनाइएको छ । चैती छठको अवसरमा शुक्रबार अस्ताउदो सूर्यलाई सन्ध्या अर्घ दिइएको छ भने आज शनिबार उदाउदो सूर्य लाई अर्घ दिई चैती छठपर्व सम्पन्न सम्पन्न भएको छ ।कार्तिकमा मनाईने छठ पर्व जतिको संख्यमा श्रद्धालुभक्तजनहरु नभए पनि विस्तारै चैती छठ पर्व गर्नेहरुको संख्या बढ्दै गएको छ । चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाईन्छ । खरनाको अवसरमा ब्रतालुहरुले निराहार उपवास बसि साँझपख खष्ठी देवीलाई प्रसाद चढाई खाने गर्दछन् । प्रसादमा खीर ,केरा, दुध एवम् विभिन्न प्रकारको फलफुल चढाईने गरिन्छ ।
पर्वको तेश्रो दिन अस्ताउदो सूर्यलाई अर्घ दिन ब्रतालुहरुले साँझ सूर्य अस्ताउने प्रतिक्षा गर्दछन् । त्यस क्रममा सूर्य अस्ताउनु एक घण्टा पूर्व देखिनै ब्रतालुहरु पोखरीमा प्रवेश गरि खष्ठीमाताको ध्यान गर्दै सूर्य देवलाई अर्घ दिने गर्दछन् । अर्घमा मुला,उँखु ,भण्टा,ठकुवा,भुसवा ,केरा,नरिवल लागायतका सामग्रीहरु चढाउने गरिन्छ । सन्ध्या अर्घ पश्चात रात भरि ब्रतालुहरु जागरण बसि भोली पल्ट चैत्र सुक्ल सप्तमी तिथीका दिन उदाउदो सूर्यलाई अर्घ दिई पर्वको समापन गर्ने चलन छ ।
सिरहाको लहान , धनगडी ,गोलबजार ,सुखिपुर ,चौहर्बा ,मिर्चैया ,लगायत विभिन्न ग्रामिण क्षेत्रमा रहेका ताल तलाउ , पोखरी लाई दुलही झै सिङ्गारेर यो पर्व मनाइएको छ। विभिन्न जलासयहरुमा छठ पर्व गर्ने ब्रतालुहरुको घुईचो लागेको थियो। चैती छठ पर्व गर्नाले चिताएको कुराहरु पुरा हुने तथा चर्म रोग निको हुने र मानसिक प्रसन्नता प्राप्त हुने जन विश्वास रहि आएको छ ।धार्मिक आस्था ,विश्वास तथा सद्भावको रुपमा मनाईने यो पर्व केही वर्ष पूर्व सम्म मारबाडी समुदायका केही व्यक्तिहरुले मात्र मनाउने गर्दथे । तर वर्षेनी यो पर्व मनाउनेहरुको संख्यामा वृद्धि भइरहेको छ । चिताएको मनोकामना पुरा भए पछि आफुले यो पर्व मनाउन थालेको ग्लोवल फ्रेन्ड्स एसोसिएसनका अध्यक्ष वसन्त साह बताउनु हुन्छ। छठ पर्वको शुभ अवसरमा ग्लोवल फ्रेन्ड्स एशोसिएसन लहानले सिङ्गराहि स्थित रहेको पोखरीमा संजय साहको संयोजकत्मा विभिन्न कार्यक्रमको आयोजना र टेन्टहरुको व्यवस्थापन सहित ब्रतालुहरु लाई पुजा - आजा गर्न उचित व्यवस्थापन मिलाएका थिए ।