शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरीमा भारतीय नोटको अभावले “बट्टा” कारोबार फस्टाउँदै
बैशाख ११, २०७५ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी ,११ वैशाख । भारतीय रुपैयाको अभावका कारण सप्तरीमा भारतीय नोटको बट्टा कारोबार निकै फस्टाएको छ । जसकारण स्थानियहरु निकै तनावमा छन् । बैंकमा भारतीय रुपैया नपाउनु तथा यसैको फाइदा उठाउँदै केही व्यक्ति र व्यापारीले सयकडा ७ देखि १० रुपैया बट्टा लिएर भारु साटन थालेपछि स्थानियहरु तनावमा परेका हुन् ।सप्तरी सिमाबर्ती बजार भएकाले यहाँका अधिकांश उद्योगी व्यवसायी र स्थानियहरु भारतको बजारमा दैनिक उपाभोग्य बस्तुदेखी लिएर अन्य ब्यापारीक कारोबार भारुमै गर्नु पर्ने बाध्यता रहेको छ । तर, भारुको अभावमा नेपाली रुपैयामा कारोबार गर्दा त्यहापनि सयकडा ५ देखि १० रुपैया बट्टा काट्न थालेको स्थानियहरुले गुनासो गरेका छन् । 

सर्वसाधारणलाई सिमाबर्ती बजारमा किनमेल प्रयोगजनका लागी मात्र नभई भारतमा उपचार, शिक्षा, तिर्थायात्रा तथा पर्यटन प्रयोजनका लागी पनि भारतीय नोटको आवश्यक पर्दा बट्टा तिरेर लिनु पर्ने बाध्यता रहेको छ । स्थानिय बजारमै केही व्यक्ति र व्यापारीले सयकडा ५ देखि १० रुपैया सम्म बट्टा काटेर भारु उपलब्ध गराउने र सर्वसाधारणलाई उनीहरुसँग भारु किन्ने काम निकै महगो सावित हुने गरेको छ । सदरमुकाम राजविराजमा भारुको चर्को अभाव भएको एक वर्ष भन्दा पनि बढी समय भई सक्यो । यहाँ मनिचेन्जर कम्पनी नभएको तथा विगत एक वर्ष देखि राष्ट्रिय बाणिज्य बैंकले पनि भारु सटही सुविधा बन्द गरेकाले सर्व साधारण भारु पाउन गोप्य ढंगले भारु नोटको कारोबारी गर्नेहरुको घर र पसल चहार्नु परेको स्थानिय उमेश यादव बताउँछन् । 

बैंकले भारु नोट सटही सेवा बन्द गरेको अवस्थाको फाईदा उठाउँदै केहि व्यवसायीले भारु नोटको अबैध कारोवार गरिरहेकाकोप्रति त्यसतर्फ सम्बन्धित निकायको ध्यान जान सकिरहेको छैन् । राजविराजस्थित राष्ट्रिय बाणिज्य बंैकले मात्र सर्वसाधारणको सुविधाका लागी भारु सटही गर्दै आएको थियो । घरका लागि प्रति निवेदन एक हजार पाँच सय र भारत तर्फ उपचारका लागी जानेहरुको हकमा प्रमाणको आधारमा ५ हजार भारु रुपैया मात्र दिदै आएको सो बैंकले विगत एक वर्ष देखि सो सेवा पनि पूर्ण रुपमा बन्द गरेको छ । 

यस बारे सो बैंकका एक कर्मचारीसँग जिज्ञासा राख्दा भारु रुपैया राष्ट्र बैंकले पठाउने गरेको थियो, उतैबाट पठाउन छाडिएपछि सटही काउण्टर बन्द गरिएको जानकारी दिएका छन् ।हाल भारु सटही काउण्टर बन्द गरी बैंकले त्यसमा भाडामा चिया पसल संचालन गरेको छ । भारु खोज्दै आउनेहरु सटही काउण्टर चिया पसलको रुपमा परिणत भएको देखेर निरास भई फर्किने गरेका छन् ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.