शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
राजविराज कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी
बैशाख २४, २०७५ | फिरोज शेख

शुभ नारायण यादव , राजविराज २०७५ बैशाख २४ - 
सप्तरीको राजविराज कारागारमा क्षमता १ सय ३५ कैदीबन्दी रहेपनि हाल क्षमता भन्दा दोब्बर २ सय ९४ जना कैदीबन्दीहरु रहेका कारणले कैदी बन्दीहरु कष्टपूर्ण जीवन बिताउन बाध्य भएका छन ।गृहमन्त्री रामबहादुर थापाले दुई साताभित्र कारागार सुधार कार्ययोजना बनाउन १ महिना अगाडि दिएको निर्देशन कार्यान्वयनमा नआउँदा कैदी–बन्दीहरु कष्टपूर्ण जीवन बिताउन बाध्य छन्।गत चैत ६ गते काठमाडौंका दुई वटा कारागारको निरीक्षण गरेका मन्त्री थापाले त्यहाँको अस्तव्यस्तता देखेपछि कारागार व्यवस्थापनको जिम्मेवारी पाएका अधिकारीहरूलाई जेल सुधारको निम्ति ठोस कार्ययोजना बनाउन निर्देशन दिएका थिए।मन्त्रीको निर्देशन कार्यान्वयन नहुँदा जिल्लास्थित कारागारहरुको अवस्था ज्यूँका त्यूँ छ। सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा क्षमताभन्दा दुई गुणा बढी कैदी–बन्दी राखिएको छ। १ सय २५ पुरुष र १० महिला गरी कुल १ सय ३५ जनाको क्षमता रहेको कारागारमा हाल १३ जना विदेशीसहित २ सय ९४ जना कैदी–बन्दी छन्। 

पुरुषतर्फको ‘ए ब्लक’ मा १ सय ८१, ‘बि ब्लक’ मा ९६ र महिला ब्लकमा १ बालिका सहित १७ जना कैदीबन्दी राखिएको छ।कारागारमा कर्तव्य ज्यानका ७४ कैदी र २० बन्दी, लागूऔषधका १२ कैदी र २९ बन्दी, डाँका मुद्दाका २ कैदी, जबर्जस्ती करणीका २८ कैदी र २९ बन्दी, सार्वजनिक अपराधका ३ बन्दी, सवारी ज्यानका ७ कैदी र ४ बन्दी लगायत रहेका छन्। कैदी–बन्दीमध्ये ९ कैदी र ७ बन्दी गरी १६ जना महिला छन्। उनीहरुसँगै एक बालिका पनि आमासँगै रहेको कारागारले जनाएको छ। यसैगरी, ९ कैदी र ४ बन्दी गरी कुल १३ जना भारतीय नागरिक कारागारमा छन्। क्षमताभन्दा बढी कैदी–बन्दी राखेका कारण कोचिएर बस्नुुपर्ने, पानी तथा शौचालयका लागि लामो लाइन लाग्नुपर्ने, टाँसिएर सुत्नुपर्दा छालासम्बन्धी रोगको संक्रमणबाट पीडित हुनुपर्ने लगायतका समस्याले हैरान भएको कैदी–बन्दीले गुनासो गरेका छन्। जेलर सत्यनारायण यादवले पनि ठाउँ अभावका कारण कैदी–बन्दीलाई कोचेर राख्नुपरेको स्विकारे। २००८ सालमा निर्मित राजविराज कारागार साँघुरो हुनुका साथै जीर्ण पनि छ। माटो र ढुंगाको पर्खाल रहेको जीर्ण भवनको मर्मत हुन नसक्दा भत्कन सक्ने खतरा उत्तिकै छ।कारागारलाई जग्गा अतिक्रमणले पनि पिरोल्दै आएको छ। कारागारको नाममा रहेको ५ बिगाहाभन्दा बढी जग्गामध्ये पूर्व र उत्तरतर्फबाट करिब ३ कठ्ठा जग्गा अतिक्रमणमा परेको छ। अतिक्रमण हटाउन यसअघि पटक–पटक भएका प्रयास सफल नभएपछि यथास्थितिमै कारागारको व्यवस्थापन भइरहेको जेल यादवले बताए।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.