शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरीकी गायिका अन्जु यादव अभिभाक बनिन
बैशाख २४, २०७५ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी ,२४ बैशाख । सप्तरी जिल्लामा जारी विद्यालय भर्ना अभियानले दलित एवम् विपन्न बस्तीलाई छुन नसकेको भनी आलोचना भईरहँदा सप्तरीकी एक गायिकाले सहयोगी हात बढाएकी छिन् ।सप्तरीको बेल्हीचपेना  गाउँपालिका ५ मलेकपुरस्थित डोम बस्तीका बालिकाहरु विद्यालय जानबाट बञ्चित रहेको भनी समाचार विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएपछि चर्चित गायिका अञ्जु यादवले सहयोगी हात बढाएकी हुन् । गायिका यादव गत साता डोम बालिकाहरुको वास्तविकता बुझ्न उनीहरुको घर पुगेकी थिईन् । विद्यालय नजानुको कारणबारे अभिभावक तथा बालिकाहरुसँग कुराकानी गरी उनीहरुलाई विद्यालय पठाएरै छाड्ने संकल्प लिईन् । राजविराज पुगेर उनीहरुकालागि सर्ट र स्कर्ट सिलाईन् । झोला, कापी, पेन्सिलसहितका शैक्षिक सामग्रीहरु खरिद गरेर आइतवार विहान पत्रकारहरुको सहयोगमा डोम बस्ती पुगिन् । 

तीन जना डोम (मरिक) बालिकाहरुको अभिभाकत्व ग्रहण गर्न बस्ती पुग्दा बालिकाहरु सुँगुर चराउन तथा घरधन्दामा व्यस्त थिईन् । विद्यालय जाने मन हुँदा हुँदै पनि आर्थिक रुपमा पिरोलिएर आफ्नो इच्छा मारेर बसेकी ६ वर्षीया शान्ति मरिक, ८ वर्षीया सजन मरिक र १० वर्षीया पिंकी मरिकलाई आफैले लुगा लगाईदिनुका साथै झोला समेत तयार गरिन् । यतिमात्र होइन, बालिकाहरुको हातमुख धुँदै कपाल कोरिदिएर स्थानीय आधारभूत विद्यालय पुगिन् । दलित जातिहरुमा अति पछाडि परेको डोम बालबालिकालाई आफ्नै पारिवारिक सदस्य विद्यालय लग्नु अघि तयार गरिरहँदा त्यहाँ उपस्थित डोम समुदाय समेत तीनछक्क परे । कारण अहिले पनि डोम समुदायलाई छुवाछुत गर्ने गरिन्छ ।विद्यालय पुगेर निमित प्रधानाध्यापक गौरीशंकर शर्मालाई आग्रह गरी तीनै बालिकाहरुको नाम लेखाउँदै अभिभावकत्व ग्रहण गरिन् । उनले त्यस क्रममा उनले आफ्नो मोबाइल नम्वर प्रधानाध्यापक तथा वर्ग शिक्षकलाई दिईन् भने उनले समेत उनीहरुको नम्वर मोबाइलमा सेभ गरिन् । बालिकाहरु विद्यालय नियमित आउँछन् कि आउँदैन, प्रगति कस्तो छ ? भनी जानकारी लिनका लागि नम्बर आदान–प्रदान गरिन् । यतिमात्र होइन वडा अध्यक्ष लक्ष्मी ठाकुर तथा अभिभावकको नम्वर समेत लिइन् । 

विद्यालयको अभिभावकत्व ग्रहण गर्दै गायिका यादवले ती बालिकाहरुलाई माध्यमिक तहसम्म पठनपाठनका लागि आवश्यक पर्ने पोशाक, किताव–कपी, जुत्ता, झोला तथा पेन्सिल लगायतका सामग्री आफुले व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरिन् । गीत रेकर्ड तथा दैनिक खर्च कटाएर खर्चको व्यवस्थापन गर्ने उनले बताईन् । बालिकाहरुको घर तथा विद्यालय पुगेर नियमित रुपमा अवस्थाबारे जानकारी लिनुका साथै रेखदेख गरिरहने उनले प्रतिवद्धता व्यक्त गरिन् ।आर्थिक विपन्नताका कारण पोशाक, किताव–कपी, झोला, जुत्ता सहितका सामाग्री खरिद गर्न सक्ने अवस्था नरहेकोले आफ्ना बालिकाहरुलाई विद्यालय भर्ना गराउन नसकेको भन्दै आएका पिंकीका अभिभावक प्रितम मरिकले खुशी व्यक्त गरे । बालिकालाई निरन्तर विद्यालय पठाउने प्रतिवद्धता उनले व्यक्त गरे । उक्त अवसरमा नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, पत्रकारहरु दिनेश शर्मा, विद्यानन्द राम लगायतले गायिका यादवले लिएको संकल्पको प्रशंसा गर्दै विद्यालयलाई समेत निगरानी गर्न आग्रह गरे ।सदरमुकाम राजविराज स्थित सप्तऋषी कलेजमा बीबीए दोश्रो वर्षमा अध्ययरत गायिका यादवको मैथिली, नेपाल, भोजपुरी र थारु गरी करिब ३ सय गीतहरु रेकर्ड भईसकेका छन् । उनी स्थानीय रेडियोमा समेत कार्यरत छिन् ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.