शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
उदाउँदो सूर्यलाई अर्घ दिई विधिवत रुपमा छठ पर्व सम्पन्न
कार्तिक २८, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ कार्तिक २८ - 
विगतका वर्षहरु झैं यो वर्ष पनि सिरहा सहित मधेशका जिल्लाहरुमा छठ पर्व धुमधामका साथ मनाइएको छ। व्रतालुहरुले मङ्गलवार अस्ताउँदो सूर्यलाई अर्घ दिईएका छन् भने बुधवार विहान उदाउँदो सूर्यलाई अर्घ दिएर विधिवत रुपमा यो पर्व सम्पन्न गरेका छन्। सिरहा सदरमुकाम सिरहा , लहान , धनगडी , शुखिपुर , गोलबजार, चौहर्वा, मिर्चैया सहित गाउपालिका तथा ग्रामिण भेगका पोखरी तथा जलासयहरुमा विशेष महत्वकासाथ छठ मनाईएको छ । धार्मिक परम्परा अनुसार नहाइ– खाइ (नुहाएर चोखो खाने ) बाट शुभारम्भ हुने गर्दछ । कात्तिक शुक्लपक्षको षष्ठी तिथिमा मनाईने यो पर्व चार दिनसम्म मनाईन्छ । कार्तिकको चौथी तिथिदेखि ब्रतालु भई यो पर्व मनाउन सुरु गरिन्छ र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्वको बिधिवत रुपमा समापन गरिन्छ । पहिलो दिन अर्थात् चतुर्थीका दिनलाई स्थानीय भाषामा अरबा–अरबाइन वा नहाइ–खाइ भनिन्छ । 

यो दिनमा ब्रतालुहरुले नदी पोखरी तलाव लगायत जलाशयमा गई नुहाइधुवाई गरेर शुद्ध भई चोखो खाना खाने गर्दछन् । ब्रतीले भोजनमा माछामासु लसुन प्याज र कोदो जस्ता वस्तु परित्याग गरी यसै दिनदेखि ब्रत बस्ने गरिन्छ ।पञ्चमी तिथिको दोश्रो दिनलाई खरना भनिन्छ । खरना छठ पर्वको अघिल्लो दिन भएकाले यो दिन ब्रतालुहरु दिनभरि निर्जला ब्रत बस्ने गर्छन् र साँझपख नुहाएर चोखो भई पूजा कोठामा माटाको नयाँ चुल्हो स्थापना गरी प्रसाद बनाउने गरिन्छ । प्रसादका रुपमा विशेषगरी पाकेको केरा र सख्खरबाट बनाईएको खीर (गुँडखीर)लाई लिईन्छ । त्यसउपरान्त गाईको गोबरले लिपपोत गरी अरुवा (अरबा) चामलको पीठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी (चौका) ब्रतीले राति चन्द्रोदयपछि चन्द्रमालाई पायस खीर चढाई प्रसादको रुपमा ग्रहण गर्ने गरिन्छ । यो दिनपछि ब्रतालुहरुले पूर्ण ब्रत लिनुपर्ने हुन्छ । षष्ठीका दिन अर्थात तेश्रो दिन गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान–पिसान गरी पिठोबाट विभिन्न ठेकुवा, भुसुवा, पेडुकिया, खजुरियाआदी तयार पारिन्छ । छठ पूजाका सामग्री तयार पार्दा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । छठ पूजाकालागि तयार गरिने सामग्री चोखो एवम् शुद्ध हुनुपर्दछ । जुठो हुन गएमा अनिष्ट हुने वा खाने व्यक्ति तथा पशुपंक्षीलाई चर्म रोग हुने जनविश्वास रहँदैआएको छ । 

 त्यसैले पूजा सामग्री तयार पार्दा महिलाहरुले निक्कै सतर्कता अपनाउने गर्छन् ।षष्ठी तिथिका दिन अन्नबाहेक फलफूल ठेकुआ भुसुवा खजुरीया, पेडुकियाका साथै कृषि उपज मूला, गाँजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा सहितका सामग्रीहरु बाँसको नाङ्गलो, कोनिया, ढक्कीमा राखेर छठी मातालाई अर्घ दिनका लागि तयार गरिन्छ । यस पर्वमा साथै माटाको हाथीको समेत अनिवार्यता रह्ने गर्दछ । पूजा सामग्रीहरु ढक्कीमा राखेर परिवारका सम्पूर्ण सदस्यहरुका साथ छठी मातासँग सम्वन्धित भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गरिन्छ ।हातमा फूलको डाला लिएर जलाशयमा पुगेर विभिन्न परिकारहरु राख्नुअघि त्यस ठाउँ र पूजा सामग्रीलाई ब्रतीले पाँचपटक साष्टाङ्ग दण्डवत् गर्छन् । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै सरसफाईका साथै घाट तयार पारिएको हुन्छ ।षष्ठी तिथिका दिन साँझ ब्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिनका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्ने गर्छन् । सोही क्रममा ब्रतीले दुवै हत्केलामा पिठार (चामललाई पीँधेर बनाईएको ) र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अर्घ सामग्री पालैपालो गरी अस्ताउन लागेको सूर्यलाई अर्पण गर्छन् ।

पर्वको चौथो अर्थात अन्तिम दिनलाई पारन भनिन्छ । यो दिन बिहान उषाकालमा ब्रत गर्नेहरु पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहर्याइ प्रातःकालीन उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरिन्छ । यस पर्वमा यथासम्भव टुप्पोमा पात भएको उखु तथा केराको बोट गाडेर त्यसभित्र पूजा गर्ने प्रचलन पनि रहेको छ । छठ पर्वको अवसरमा लहानको खुट्टीखोला , बलाननदि, लहान ३ मा अवस्थित पोखरी लगायत यस क्षेत्रका पोखरीहरु लाई दुलहीझैँ सिङ्गारिएको थियो भने सिरहाको विभिन्न स्थानमा संस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको थियो।

एक करोड ९५ लाखको लागतमा लहानको
मंसिर १८, २०७८ | फिरोज शेख
लहानमा भव्यताका साथ १४९६ औँ मोहम्मद
कार्तिक ३, २०७८ | फिरोज शेख
लहानमा १ हजार ९ सय ८५
आश्वीन २९, २०७८ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.