शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
वायुसेवा निगम अब ‘एयरबस यूगमा’
माघ २५, २०७३ |

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले अमेरिकी विमान निर्माता कम्पनी बोइङसँगको चालीस वर्षदेखिको  सहयात्रा  तोड्दै छ। अबको केही दशकसम्म  बोइङका विमानमा नेपाली ध्वजा फहराउने छैन। नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको लागि यूरोपियन विमान निर्माता कम्पनी एयरबसका विमान मात्र किन्ने छ। 

अबका केही दशक  निगमसँग एयरबसका विमान मात्र हुनेछन्। निगमको एयरबससँग लामो सहकार्य जोडिएको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए। 

वायुसेवा निगमले सन् १९३ मा पहिलोपटक बोइङ ७२७ विमान किनेको थियो। त्यसपछि सन् १९८७ मा दुई बी ७५७ विमान ल्याएको थियो जसले अघिल्लो ७२७ लाई विस्थापित गरेको थियो। 

हाल दुईवटा बोइङका जेट विमान भएको निगमले एउटा बिक्रीको लागि प्राविधिक मूल्यांकन गरेर लिलामीको लागि टेन्डर निकाल्ने तयारी गरको छ भने अर्को विमान पनि सन् २०१८ भित्र बिक्री गरिसक्ने घोषणा गरेको छ। 

निगमको यूटर्नमा केही प्राविधिक संयोग भने अवश्य जोडिएको छ। हो तिनै संयोगसँगै जोडिएर आएका केही कारकले भूमिका खेलेको अधिकारीहरुको ठहर छ। 

तर बोइङ छाडेर एयरबसको यात्रा किन त? यसको कुनै कारण निगमसँग छैन। अर्थात एयरबस राम्रो भएर वा बोइङ उडाउँदा घाटा हुने भएर पनि होइन भन्छन् कंसाकार। 

‘एयरबस बोइङभन्दा राम्रो भएर, बढी नाफा भएर वा कुनै व्यावसायिक वा सुरक्षाको कारणले हामीले रोजेका होइनौँ’ कंसाकारले सेतोपाटीसँग भने। तर निगमको यो परिवर्तनको मुख्य कारण भने आजभन्दा सातवर्ष अगाडि अर्थात् सन् २००९ मा निकालेको टेन्डरमा आएको प्रस्ताव हो। 

निगमले दुई वटा न्यारोबडी विमान खरिदको लागि भन्दै निकालेको ग्लोबल टेन्डरमा बोइङभन्दा एयरबसले २० करोड रुपैयाँ प्रस्ताव गरेको थियो। सार्वजनिक खरिद नियमावलीको पर्खाल नाघेर बोइङ किन्न नसकिने भएकोले एयरबस खरिद गर्नैपर्ने अवस्थामा पुगेको निगम त्यहीबाट अबका केही दशकसम्म एयर बससँगै रहने भएको भनाई छ कंसाकारको। 

त्यो त्यही खरिद प्रक्रिया हो जसको कारण कंसाकार स्वयम् जेल पुगेका थिए अख्तियारको फन्दामा परेर। त्यही टेन्डरबाट सन् २०१५मा आएका दुई वटा एयरबस न्यारोबडी विमान नयाँ रहेको निगमसँग दुई वटा पुराना बोइङ भए। अन्तर्राष्ट्रिय उडानको लागि चार विमान भएपनि पुरा निगम व्यावसायिकरुपमा घाटा हुने एकातिर र अर्कोतिर नियमक निकायहरुको दबाबको कारणले पनि बोइङ छोड्ने निष्कर्षमा पुगेको कंसाकार बताउँछन्। ‘हामीजस्ता थोरै विमान हुने एयरलाइन्सले बहुब्रान्डका विमान राख्दा आफैंलाई हुने नोक्सानी एकातिर छ, भने अर्कोतिर आइकाओको पनि दबाब त्यतैतिर निर्देशित रह्यो’ कंसाकारले भने। संसारका कतिपय सफल मानिएका एयरलाइन्सहरुले पनि एकै ब्रान्डका विमान मात्र राख्ने गरेको उदाहरण दिँदै एउटातिर मात्र केन्द्रित हुनुको बिकल्प नभएकोले एयरबस वा बोइङ छाड्नुपर्ने अवस्था आएपछि एयरबस रोज्नुपरेको निगमको भनाई छ। ‘एयर एसियादेखि इथोपियन एयरलाइन्ससँग कि त बोइङ छन् कि एयरबस, भनेपछि त्यसबाट त केही न केही सफलता वा फाइदा त हुँदोरहेछ नि’ कंसाकारले प्रष्ट पारे। निगमले दुबै विमान पुराना भएका र व्यावसायिक रुपमा चलाउन अयोग्य हुँदै गएकाले बोइङका जेट बेच्ने सहज निकास रोजेको हो।‘अहिले अध्ययन  गर्दा पनि पुराना विमानको प्रति यात्रु इन्धन खर्च ३० प्रतिशतसम्म बढेको हामीले पायौँ’ उनले भने, ‘यस्तोमा हामीले पुराना छाडेर नयाँ विमान बेचेपछि त सिधै मुर्ख भनिहाल्छन् नि।एयरबस पनि बोइङकै स्तरमा आएको कम्पनी भएको र नेपाल आउने विमानमध्ये ६० प्रतिशत विमान एयरबसकै भएको अवस्थामा बोइङ भन्दा एयरबस कमजोर नभएको पुष्टि हुने कंसाकारको तर्क छ।  अझ एउटामात्र ब्रान्डका विमान चलाउँदा एयरलाइन्सलाई हुने धेरै फाइदातिर आफ्नो ध्यान केन्द्रित भएको उनले बताए।  

‘पाइलट, इन्जिनियर, मर्मसम्भार, एकातिर छ भने अर्कोतिर आइकाओको पनि एउटै ब्रान्डतिरमात्र गए हुन्थ्यो भन्ने मनसाय पनि पुरा हुने भएकोले यसमा फाइदा नै बढी छ’ कंसाकारले भने। तर धेरै विमान भएपछि सँगै अर्को ब्रान्डका विमान पनि राख्न सकिने बाटो भने खुल्ला भएको उनको भनाई छ। 

‘एक सयवटा एयरबस विमान भएपछि त्यत्तिकै मात्रामा बोइङ राख्दा केही घाटा हुँदैन। तर १० वटा पनि नभएको एयरलान्ससँग दुई कम्पनीका विमान हुनु थप व्ययभारमा जानु हो’ पछिको बिकल्पबारे बोल्दै उनले भने।हाल दुई वटा एयरबस न्यारोबडी विमान भएको निगमले थप दुई एयरबसकै वाइडबडी खरिद गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ। ति विमान आउनासाथ प्रत्येक वर्ष कम्तिमा पनि एउटा विमान थप गर्ने योजना निगमको छ। हाल ८ अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भरिरहको निगमले वाइडबडी आएपछि अन्तरमहादेशीय उडान सुरु गरी क्षेत्रीयस्तरमा एयरलाइन्सहरुसँग प्रतिस्पर्धी बन्ने योजना आगाडि सारेको छ। 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.