शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
धनतेरस नजिकिँदै गर्दा पनि सिराहाका सुन व्यापारीमा छैन उत्साह
कार्तिक २४, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ कार्तिक २४ - 
तिहार नजिकिँदै गर्दा कोभिडका कारण यस वर्ष सुन व्यापारीमा नत कुनै उत्साह छ ,नत कुनै तयारि, काग तिहारका दिन धनतेरसलाई लक्षित गर्दै सुन व्यापारीहरुले सुन तथा चाँदीका सामान बनाएर तयारी अवस्थामा रहन्थे। तर यस वर्ष कोभिड-१९ का कारण व्यवसायीहरु पर्ख र हेरको अवस्थामा रहेको सिरहा सुनचाँदी व्यवसायी संघका जिल्ला अध्यक्ष विकाश सारडाले बताए। उनले भने, ‘तिहारको समयमा सुन चाँदीका सामान बनाउन नभ्याउने भएकाले केही समय अगाडिदेखि नै तयारी गरेर राख्ने चलन थियो। तर यस वर्ष अहिलेसम्म कुनै पनि तयारी छैन।’अवस्था असमान्य भएकाले बजारमा भइरहेकै सामानले पुग्ने व्यवसायीहरुको अनुमान छ। माहोल हेरेर बिक्ने जस्तो अवस्था देखिए सुन चाँदीका सामान बनाएर राखिने सारडा बताउछन्। अघिल्ला तिहारमा जति उत्साहजनक व्यापार हुन्थ्यो, यस वर्ष धेरै कम हुने व्यवसायीहरु बताउछन्। गएका वर्षमा एक–दुई साता अगाडिदेखि नै अर्डर आउने गरेकोमा यस वर्ष अहिलेसम्म त्यस्तो खासै अर्डर नआएको उनीहरु बताउछन्।  

कोभिडका साथै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा भइरहेको वृद्धिले पनि व्यवसायी हच्किएका हुन्। अमेरिकामा चुनाव सकिएलगत्तै केही समय कोभिड -१९ को नियन्त्रण तथा रोकथामका लागि लकडाउन हुन सक्ने विश्लेषणले गर्दा सुनको भाउ लगातार बढिरहेको छ। चुनाव अगाडि गिरावट देखिएको सुन पछिल्लो समय पुनः बढ्न थाले पछि यसको असर नेपाली बजारमा पनि परेको छ। पछिल्लो समय सुनको भाउ लगातार बढिरहेकोले अहिलेदेखि नै सुन किन्दा महंगो पर्ने तथा जोखिम बढी हुने भएकाले सामानको तयारी गर्न नसकिएको अध्यक्ष सारडा  बताउछन्। अहिलेसम्म बजारमा तिहारका लागि भने अर्डर आइसकेको छैन। यदि अर्डर धेरै आउन थाल्यो भने केही मात्रामा तयारी गर्ने सोचमा व्यवसायी पुगेका हुन्। गएका वर्षमा तिहारकै समयमा बनाउन गाह्रो पर्ने भएकाले केही समय अगाडिदेखि नै चलेका सामानहरु तयारी गरेर बस्ने गरेका थिए। अहिले पनि व्यवसायीहरु सँग पुराना स्टक सामान छन्। तिनै सामान बिक्री गर्ने उनीहरुको तयारी छ। 

सामान्य अवस्थामा यस जिल्लामा दशैँ तिहारको समयमा सय किलोको हाराहारीमा सुनका सामानहरु बिक्री हुनेगर्छन्। त्यस्तै एक हजार किलोको हाराहारीमा चाँदीका सामान बिक्री हुने गरेको पाइन्छ। तर गत वर्ष सुनको भाउमा आएको वृद्धिका कारण त्यति धेरै कारोबार हुन सकेन। तिहारको समयमा सबैभन्दा धेरै धनतेरसका दिन मात्र १५ देखि २० किलो सम्म सुनको कारोबार हुन्छ। यसका साथै कुकुर तिहार र लक्ष्मी पुजाका दिन पनि राम्रो कारोबार हुन्छ। कार्तिक कृष्ण पक्षको त्रयोदशी अथवा काग तिहारका दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने चलन छ।  यस दिनलाई धन त्रयोदशी पनि भन्ने गरिन्छ । यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरी र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो । धनतेरसका दिन नेपालको तराइ क्षेत्र र भारतमा नयाँनयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । त्यस क्षेत्रमा समाजका उच्च, मध्यम वा निम्न सबै वर्गका व्यक्तिहरू आफ्ना आवश्यकता र विलासिताका कतिपय महत्त्वपूर्ण चिजबिजको किनमेलका लागि वर्षभरि यही विशिष्ट दिनको प्रतीक्षा गर्ने गर्दछन्।धनतेरसका दिन सुन, चाँदी, तामा लगायतका धातुका नयाँ भाँडाकुँडा किनेर घरमा ल्याई पूजाआजा गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने धार्मिक विश्वास छ। यो दिन किनिएको वस्तु टिकाउ, लाभदायक र शुभ हुने धार्मिक मान्यता रहेकाले तिहार पर्वको पहिलो दिन आफ्नो गच्छेअनुसार सबैले केही न केही किन्ने परम्परा छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.