शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सखुवानन्कारकट्टीमा झण्डा महोत्सव शुरु, टेलिफोनबाट प्रमुख अतिथि नेपालको सम्बोधन
फाल्गुन १६, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ फागुन १६ - 
सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका ५ महेशबारीमा शनिबारदेखि ‘सखुवानन्कारकट्टी तेस्रो झण्डा महोत्सव २०७७’ को शुरु भएको छ । महोत्सवको उद्घाटन गर्न नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल सिरहा आउने भनिएपनि मौसम खराबीको कारणले हेलिकप्टर नउडेपछि नेपालले काठमाडौंबाटै टेलिफोनमार्फत् उद्घाटन मन्तव्य व्यक्त गरेका थिए । महोत्सव उद्घाटन समारोहमा करिब आधा घण्टा टेलिफोनमार्फत् सम्बोधन गरेका अध्यक्ष नेपालले २०६२÷०६३ को आन्दोलनको उपलब्धि संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र समावेशीताको रक्षा गर्नु पर्ने अवस्था आएको बताए । ‘आन्दोलनले ल्याएको उपलब्धि संस्थागत गर्दै मुलुकलाई समृद्ध बनाउन अगाडि बढ्नु पर्नेमा सरकार नै संविधान मिचेर अगाडि बढ्न खोज्यो’ अध्यक्ष नेपालले भने ‘जनता, नागरिक समाज, पेशाकर्मी, वकिल, पत्रकार, बुद्धिजीवीहरुको निरन्तरको खवरदारीले संविधान मिच्नेहरु हच्किए ।’सर्वोच्च अदालतबाट प्रतिनिधिसभाको पुनःस्थापना भएपछि आन्दोलनका उपलब्धिहरुको रक्षा गर्दै मुलुकलाई समृद्ध बनाउन आफ्नो पार्टीले इमान्दारीपूर्वक जनताको पक्षमा काम गर्ने अध्यक्ष नेपालको भनाई थियो । उनले मुलुकमा मौलाउँदै गएको भ्रष्टाचार निर्मूल गरी सुशासन कायम गर्न सकिए मुलुकको विकासको गति अगाडि बढ्ने उल्लेख गरे । 


सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादवको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रदेश २ का सांसद् मदनसेन श्रीवास्तवले महोत्सवले स्थानीय कला संस्कृतिको पहिचानसँगै कृषि उत्पादनको प्रचार प्रसार हुँदा गाउँपालिकाको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । त्यस्तै, नेकपा दाहाल नेपाल समूहका केन्द्रीय सदस्य तथा राष्ट्रियसभाका पूर्व उपाध्यक्ष रामप्रित पासवानले कम्युनिष्टहरुले इमान्दारीपूर्वक श्रमजीवी जनताको पक्षमा काम गर्नु पर्ने खाँचो औंल्याए । 

पुष्पलाल स्मृत प्रतिष्ठान सिरहाका अध्यक्ष सत्यनारायण यादवको उद्घोषणमा सम्पन्न महोत्सवको उद्घाटन समारोहमा नेकपा दाहाल नेपाल समूहका प्रदेश २ सहइञ्चार्ज विश्वनाथ साह, स्थायी कमिटि सदस्य तथा पूर्वमन्त्री धर्मनाथ साह, प्रतिनिधिसभा सदस्य सुरेशचन्द्र यादव, नेकपा प्रदेश २ संसदीय दलका नेता शत्रुधन महतो, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अजयशंकर नायक, पूर्वमन्त्री महेन्द्र पासवान, प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री रामकुमार यादव, प्रदेशसभा सदस्य प्रमोदकुमार यादव, प्रदेशसभा सदस्य गोविन्द न्यौपाने, जगतप्रसाद यादव, अशोककुमार यादव, संविधानसभा सदस्य आशादेवी यादव, जिल्ला समन्वय समिति सिरहाका प्रमुख रामचन्द्र ठाकुर लगायतको उपस्थिति थियो । 


‘कला संस्कृति हाम्रो स्वभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान’ भन्ने मूल नारासहित १० दिनसम्म चल्ने महोत्सव स्थानीय कृषिलाई आधुनिकीकरण गर्न प्रोत्सान गर्ने, बालविवाह, दहेज प्रथा, लैंगिक हिंसा न्यूनीकरण, विद्यार्थीको क्षमता अभिबृद्धि, स्थानीय व्यवसाय प्रबद्र्धन तथा स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको गाउँपालिका अध्यक्ष तथा महोत्सव आयोजक मूल समितिका संयोजक केदारनाथ यादवले बताए ।

संयोजक यादवले महोत्सवले स्थानीय कृषि, शिक्षा, व्यसाय, कला संस्कृति जगेर्नामा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे । ‘जिल्लाको महत्वपूर्ण स्थानमा रहेर आफ्नो ठाउँको सही पहिचान हुन नसकेको सन्दर्भमा स्थानीय पहिचानको लागि पनि महोत्सवको महत्वपूर्ण योगदान रहन्छ’, अध्यक्ष यादवले भने । कृषि, कला संस्कृति, विकास तथा सुगमताका हिसावले सखुवानन्कारकट्टी उत्कृष्ठ भएपनि सही पहिचान हुन नसकेको भन्दै अध्यक्ष यादवले भने ‘त्यसका लागि महोत्सवको तेस्रो संस्करण गर्न लागेका हौं ।’ महोत्सव स्थलमा स्थानीय कृषि उपज, विभिन्न कृषि उपकरण, खाद्ययान्न तथा घरेलु प्रायोजनका सामग्रीहरुको एक सय वटा स्टलहरु रहने आयोजक समितिले जनाएको छ । सर्वसाधारणका  लागि निःशुल्क प्रवेश रहेको महोत्सवको लागि गाउँपालिकाले विभिन्न शीर्षकमा ३४ लाख ५० हजार रुपैयाँ बजेट प्रस्तावित गरेको छ ।कार्यक्रमको प्रत्यक्ष प्रशारण रेडियो सरगम बाट भएको थियो।  

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.