बद्रीनारायण यादव -
सिरहा, ११ फागुन । माउण्टेन टेलिभिजनका सिरहा समाचारदाता सुरेन्द्र कुमार कामतिलाई बुधबार विहान सिरहा नगरपालिका ११ स्थित भलुवाही चौकमा प्रहरीले गालीगलौज गर्दै कुटपिट गरेको छ । भलुवाही चौकमा लगाएको फ्री मधेश लेखिएको तुल र ब्यानर प्रहरीले हटाउदै गर्दा फोटो खिच्न गएका पत्रकार कामतिलाई प्रहरीले फोटो खिच्न रोक लगाउदै गालीगलोज गर्दै कुटपिट गरेका छन् । टेलिभिजनले दिएको प्रेसको एप्रोन लगाएका कामतिलाई मोबाईल खोस्दै गाली गलौज गरी कुटपिट गरेको हो ।आफु पत्रकार हुँ भन्दा पनी प्रहरीले भ्यानमा राखेर कुटपिट गर्दै गाली गलौज सहित प्रहरी भ्यानमा राखन लागेको प्रत्यक्षदर्शी चन्द्रदिप भुजेलले बताए ।प्रत्यक्षदर्शी भुजेलको अनुसार प्रहरीको बल प्रयोगका कारण कामतिको मोवाइलको सिसा समेत चर्केको हो । यता कमतिका अनुसार ‘मलाई गाली गर्दै गाडीमा राखेर लैजादै थियो,‘गाडीमा लैजाने क्रममा प्रहरीलाई रेडियोमा समाचार वाचन गर्नु छ भन्दा बल्ल छाडेको दुखेसु पोखे ।’
यसै बीच जिल्ला प्रहरी प्रमुख एसपी शेखर कोइरालालाई भलुवाही चौकमा कसको नेतृत्वमा टोली निस्केको थियो सोध्दा कुनै प्रतिक्रिया दिएनन् । उनले त्यो कुराको जानकारी किन चाहियो भने । पत्रकार कामति स्थानीय सामुदायिक रेडियो सल्हेशमा समाचार वाचकको रुपमा समेत कार्यरत छन् । पत्रकार कामतिमाथि भएको घटनाको चौतर्फी विरोध भैरहेको छ। नेपाल पत्रकार महासंघ सिरहा, मधेशी पत्रकार समाज नेपाल, प्रेस चौतारी, प्रेस युनियन, मधेश मिडिया मिसन, शेख मिडिया हाउस प्रालि लहान , सल्हेश एफएम लगायत प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्ने विभिन्न संघ संस्थाले प्रेस प्रेस विज्ञप्ती मार्फत घोर भत्र्सना गर्दै दोषी प्रहरीमाथि कारवाहीको जोडदार माग गरेका छन्। महासंघ सिरहा अध्यक्ष देवकुमार यादवले घटना गम्भीर नै भएको हुनाले दोषी प्रहरीमाथि कारवाही हुनुपर्ने बताए ।