शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान नयाँ बजार कुटपिट प्रकरण मिल्यो , निर्माण कार्य शुरु
आश्वीन २७, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ असोज २७ - 
असोज १२ गते लहानको नयाँ बजारको १० वटा जीर्ण भवन खाली गराउने क्रममा नगरप्रहरी र स्थानीय व्यापारीबीच झडपका कारण रोकिएका नयाँ बजार निर्माण कार्य सुरु भएको छ।  टेण्डर भएको विगत पाँच महिनादेखि लहान–५ स्थित रहेको नयाँ बजारले पछिल्लो दलीय सहमति अनुसार नै निर्माण कार्यले गति लिएको हो । असोज २४ गते जिल्ला प्रशासन कार्यालय सिरहामका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले सहमति गरेपछि लहान नगरपालिकाले निर्माण कार्य सुरु गरेका हुन्  ।

असोज १२ गते नगरपालिका र चार दलीय सहमतिकै आधारमा अस्थायी टहरा निर्माण र पुरानो १० वटा जीर्ण भवन खाली गराउने क्रममा नगरप्रहरी र स्थानीय व्यापारीबीच झडप भएको थियो । झडपमा लहान–५ की गुडिया खातुन र लहान–७ का राम औतार शर्मा घाइते भएको थियो । ईलाका प्रहरी कार्यालय लहानले लहान–५ का अस्थायी टहरा निर्माण समितिका अध्यक्ष मोहम्मद इसराइल सिद्दिकी सहित लक्ष्मी पासवान,सन्तोष पण्डित र सन्जय साहलाई पक्राउ गरेको थियो ।

लहान नगरपालिका र नेकपा एमालेले पाँचै जना स्थानीय युवाहरुलाई रिहाइको लागि विज्ञप्ती जारी गरी लहानमा विरोध प्रदर्शन गरेको थियो भने नेपाली काँग्रेस, नेकपा माओवादी, जनता समाजवादी र नेकपा एकिकृत समाजवादीले पक्राउ परेकाहरुलाई कारवाही हुनुपर्ने माग गर्दै विज्ञप्ती प्रकाशित गरेर प्रदर्शन गरेको थियो।असोज २४ गते जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलको अध्यक्षतामा लहान नगरपालिका र चार दलबीच फेरि नयाँ सहमति भएपछि पक्राउ परेका ५ जना लाई रिहाइ गरी बजार निर्माण कार्य सुरु भएको हो ।क्रमशः १० वटा जीर्ण भवन भत्काउदै जाने र १० वटा अस्थायी टहरा निर्माण गर्दै जाने भएको सहमति अनुसार निर्माण कार्य सुरु भएको लहान नगरपालिका नगर प्रमुख मुनि साहले बताउनुभयो ।

उहाँका अनुसार १३ करोडको लागतमा निर्माण हुने नयाँ बजार प्रदेश २ कै नमूना बजार हुनेछ । यस निर्माण कार्यको लागि भएको अन्तिम सहमति अनुसार निर्माण कार्यको लागि नेपाली काँग्रेसको तर्फबाट लहान नगरसभापति सुनिल कुमार महतो,नेकपा माओवादीका विजय कुमार गुप्ता,जनता समाजवादीको तर्फबाट बैजनाथ साह र नेकपा एमालेको तर्फबाट विष्णुलाल साहले सहमतिमा हस्ताक्षर गरेका थिए ।असोज २४ गते नेकपा एमाले जिल्ला कमिटिले पक्राउ परेका निर्दोष कार्यकर्ताहरुलाई रिहाइ नगरी र नयाँ बजार निर्माण कार्य सुचारु नगरे आन्दोलन गर्ने ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेललाई बुझाएपछि सहमति भएको नेकपा एमाले जिल्ला कमिटिका अध्यक्ष चन्देश्वर मण्डलले जानकारी दिए ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.