शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान सहित विभिन्न स्थानमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
मंसिर १०, २०७८ | फिरोज शेख

सिरहा २०७८ मंसिर १० - 
लहान नगरपालिकाको आयोजना र ओरेक, मुक्ति नेपाल, दलित जन कल्याण युवा क्लब, इन्सेक लगायतका संस्थाको सहकार्यमा ३० औं महिला हिंसा विरुद्धको १६ दिवशिय अभियानका अवसरमा पहिलो दिन “घरबाटै शुरु गरौ महिला हिंसा अन्त्य गरौ” विषयक अन्तरक्रिया कार्यक्रम मंसिर ९ गते लहानको सभाहलमा सम्पन्न भएको छ । लहान नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख अन्जना साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख सरियार कुमारी चौधरी, विशिष्ट अतिथि ईलाका प्रशासन कार्यालय लहानका प्रमुख कृष्ण बहादुर खड्का, अतिथि शसस्त्र प्रहरी बलकका प्रमुख, ईलाका प्रहरी लहानका प्रतिनिधि, मानवअधिकारकर्मी, संचारकर्मी लगायत सय जनाको उपस्थिति रहेको थियो । “घरबाटै शुरु गरौ महिला हिंसा अन्त्य गरौ” नाराका साथ सुरु भएको अभियानबारे प्रस्तावना पत्र ओरेकी कार्यक्रम तथा संचार अधिकृत अनिता चौधरीले प्रस्तुत गर्नु भएको थियो । ओरेक सिरहाले महिला माथि हुने हिंसाका घट्नाका तथ्यांक अनुसार एक सय ३० जना महिलाले कानुनी सहयोग, मनोविर्श र परामर्श लिएको जानकारी गराउनु भयो । 

लहान नगरपालिकाको न्यायिक समितिमा २०७८ पुष देखि मंसिर ८ सम्म ९ जना महिलाको केस दर्ता भएको प्रस्तुतीमा उल्लेख थियो ।  ईलाका प्रशासन कार्यालय लहानका प्रमुख कृष्ण बहादु खड्काले भन्नुभयो “न्यायिक निकायमा महिलाको नेतृत्व भए पछि महिलाले सहजै न्याय पाउन सक्छ । महिला माथि हुने हिंसाका घट्ना न्युनिकरणका लागि महिला आत्म निर्भर हुन जरुरी रहेको समेत बताउनुभयो । ”दलित जन कल्याण युवा क्लवले न्यायिक समिति लहानमा आएको महिलाहरुलाई न्याय पाउन सहजता हुन्छ भनि मोबाइल प्रदान गरेको थियो । कार्यक्रममा उपस्थितिलाई कार्यक्रमबारे प्रकाश र स्वागत मन्तव्य ईन्सेक प्रतिनिधि दुर्गा परियारले गर्नु भएको थियो भने कार्यक्रम संचालन महिला अधिकारकर्मी गंगा अधिकारीले गर्नु भएको थियो । लहानको राधाकृष्ण चौकबाट शुरु भएको र्याली शहिदचौकको परिक्रमा गरी लहान नगर सभा हलमा पुगी अन्तरक्रिया कार्यक्रम गरी सम्पन्न भएको थियो । 

सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो ।उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो । “घरैदेखि शुरु गरौँ, महिला विरुद्धको हिंसा अन्त्य गरौँ” भन्ने मूल नाराका साथ सिरहाका विभिन्न स्थानमा हिजो र्‍याली, सभा तथा दीप प्रज्वलनको कार्यक्रम गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरिएको हो । जिल्ला समन्वय समिति, सिरहा, लहान, धनगढीमाई नगरपालिका, इन्सेक, मुक्ति नेपाल, ओरेक, दलित जनकल्याण यूवा क्लब, समग्र जनउत्थान केन्द्र, इह्रिकण लगायत सङ्घसंस्था तथा जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, मानव अधिकार संरक्षण केन्द्र सञ्जाल तथा महिला मानव अधिकार सञ्जालको संयुक्त आयोजनामा र्‍याली तथा अन्तरकृया कार्यक्रम गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रमको सुरुवात गरिएको हो।

कार्यक्रममा प्रदेश २ का कानुनमन्त्री प्रमोद यादवले कानुनहरु बनेको उल्लेख गर्नु हुँदै सबैले इमान्दार भएर बनाइएका कानुनको पालना गर्न आग्रह गर्नु भयो । प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले महिलामाथि हुने हिंसाले समाजमा नकारात्मक असर पर्ने भएकोले सबैले महिलाको सम्मान गर्नु पर्ने बताउनु भयो । सिरहा नगरपालिकाका नगर प्रमुख अशेश्वर यादवले स्थानीय तहले हिंसा रोक्न र महिलाहरुको विकासको लागि कार्यक्रमहरु तयार गरेको बताउनु भयो ।

 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2022 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.