शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बेमौसमी बर्षाले गहुँ र आँपमा क्षति
चैत्र ७, २०७३ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी ,७ चैत्र । सोमबार दिउँसो अचानक सप्तरी सहित तराईका जिल्लाहरुमा भएको बेमौसमी वर्षाका कारणले यहाँका किसानहरुलाई ठुलो समस्या उत्पन्न भएको छ । सप्तरीमा वर्षासँगै भारी असिना परेको छ । यसले सप्तरीको जनजीवन प्रभावित भएको छ । जिल्लाको पूर्वी र उत्तरी क्षेत्रमा ठूलो मात्रामा असिना खसेको छ ।त्यस्तै पूर्व पश्चिम राजमार्गमा समेत खसेको असिना दुई फिटसम्म जमेको छ । करिब एक घण्टासम्म लगातार असिना खसेको स्थानीयहरुले बताएका छन् । जिल्लाको जण्डौल, बकधुवा गाविसका साथै कञ्चनरुप नगरपालिकामा व्यापक असिना खसेको छ । जिल्ला सदरमुकाम राजविराजसहित दक्षिणी क्षेत्रमा वर्षा भएपनि सामान्य असिना खसेको छ ।

पछिल्लो तीन दशकभन्दा बढी समयपछि यत्रो असिना खसेको बताउँछन् वृद्धवृद्धाहरु । कञ्चनरुप नगरपालिकाको बेंगरी निवासी बृद्वा खडानन्द आचार्यले यस्तो असिना विक्रम सम्वत् २०४२ सालमा खसेको स्मरण गर्छन् । उनले भने, ‘त्यसयता यत्रो ठूलो असिना खसेको हालसम्म देखेको थिएन ।’जिल्लाको कञ्चनरुप नगरपालिकाकै रुपनगर टोल निवासी हुतराज रेग्मी एक्कासी यत्रो असिना खस्नु र वर्षा हुनुले ३० वर्षअघिको स्मरण गराएको बताएका छन । यसैबिच अत्यधिक असिना र भारी वर्षाले जिल्लाको उत्तरी पूर्वी क्षेत्रमा लगाइएको बिघौंको गहुँबाली नष्ट गरेको छ । गहुँ पाक्ने बेलामा खसेको असिनाले सम्पूर्ण लगानी डुबाएको कृषकहरुले बताएका छन् । रुपनगरका किसान बिष्णु मुरारी पोखरेलका अनुसार सम्पूर्ण गहुँबाली असिनाले ढाकिएको छ ।
गहुँका साथै आँप लगायतका फलफूल समेत असिनाले नष्ट भएको छ । भर्खर फल बन्न थालेको आँपको सम्पूर्ण मजरलाई असिनाले नष्ट गरेको छ । सप्तरीको सबैभन्दा बढी आँप फल्नेमध्ये कञ्चनरुप नगरपालिका र बकधुवा गाविस पनि एक हो ।

यस्तै किसानहरुले लगाएको मुँगको दाल, बिभिन्न किसिमका तरकारीसहितका बालीहरु पनि असिनाले नष्ट गरेको छ ।बिना सिजनको मुसलधारे बर्षाले गर्दा सप्तरी सहित तराईका जिल्लाहरुमा एकाएक चिसो बढाउनुका साथै बेमौसमी बर्षाले गर्दा खासगरी किसानहरुले मेहनत साथ खेतमा लगाएको गहुँ बालीमा समेत ठुलो क्षति हुने अवस्था भएको भन्दै स्थानीय कृषहरु चिन्तित बनेको छ । यहाँका किसानहरुले मेहनत साथ खेतमा लगाएको गहुँ बाली घर भित्राउने बेलामा आएको बेमौसमी वर्षाले गर्दा किसानहरुको मेहनतमा पानी हाले सरह भएको गुनासो किसानहरुको रहेको छ । घर भित्राउने समयमा अचानक आएको बेमौसमी वर्षाले गर्दा गहुँमा क्षति पुग्ने भएकाले किसानहरु चिन्तित बनेको छ । त्यस्तै बेमौसमी बर्षाले गर्दा सप्तरी जिल्लामा संचालित ईटा भटाहरुमा तयारी अवस्थामा रहेका करोडौ मुल्य बराबरको ईटालाई क्षति पुयाएका छन । तयारी अवस्थामा रहेका ईटा बेमौसमी बर्षाले गर्दा करोडौको क्षति पुर्याएको व्यवसायीहरुको गुनासो रहेको छ । यस्तै बेमौसमी बर्षाले गर्दा खासगरी आँप र अन्य फलमा समेत ठुलो क्षति पुर्याएका छन । बेमौसमी बर्षासँगै खासगरी पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको विभिन्न स्थानमा असिना समेत आएपछि केही समय राजमार्ग समेत अवरुद्ध हुन पुगेको थियो ।तसर्थ जलवायु परिवर्तनका कारणले मौसम भन्दा पहिला अर्थात बेमौसमी बर्षा भएकाले यसबाट किसानहरुलाई ठुलो क्षति ब्योहोर्नु परेकाले त्यसको उचित क्षतिपुर्ति दिनेतर्फ राज्य तथा सम्बन्धित निकायले पिडितहरुका लागि केही सहयोग गर्नुपर्ने जरुरी रहेको देखिन्छ । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.