शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
डा. भट्टराईको सुझाव : सिमाङ्कनसहितको मुद्दा सम्बोधन पश्चात मात्र निर्वाचनमा
चैत्र १०, २०७३ | सरगम खबर समाचारदाता


सन्तोष यादब - 
महोत्तरी, १० चैत । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सिमाङ्गनलगायतका मुद्दालाई सम्बोधन पश्चात मात्र निर्वाचनमा जान मधेसवादी दलका नेताहरुलाई सुझाव दिएका छन् ।नयाँ शक्तिले सुरु गरेको हिमाल, पहाड तराई अभियान कार्यक्रम अन्तर्गत आज महोत्तरीको बर्दिबासमा आयोजित जनसभालाई सम्बोधन गर्दै संयोजक भट्टराईले यस्तो आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– ‘मधेसवादी दलहरुले पनि सिमांकनलाई थाँती राखेर निर्वाचनमा जाने कुरा सुन्नमा आएको छ । त्यसैले म मधेसवादी दलका नेताहरुसँग आग्रह गर्न चाहन्छु त्यसो नगर्नुस् ।’

अहिले सिमाङकनलाई थाँती राखेर निर्वाचनमा गयो भने पछिपनि मधेसी जनताले केहि पाउँने छैन्– संयोजक डा. भट्टराईले भन्नुभयो– मधेसवादी दलका नेता ज्यूहरु, प्रधानमन्त्री प्रचण्डको कुरामा विश्वास नगर्नुस् । म ३० वर्ष उहाँसँग विताएको छु । मेरा मित्र प्रचण्ड जी दिनहुँ कुरा फेर्नुहुन्छ ।’संयोजक भट्टराईले सिमाङकन मुख्य मुद्दा भएकोले विवाद समाधान गरेर मात्र निर्वाचनमा जानुपर्नेमा जोड दिनुभयो । उहाँले नयाँ शक्ति चुनाव विरोधी नभएको बताउँदै संविधान संशोधन गरी अहिलेको राजनीतिक विवाद समाधान गरेर मात्र निर्वाचनमा गए हिमाल, पहाड, तराई/मधेसको एकता कायम रहने जिकिर गर्नुभयो ।

कार्यक्रममा नयाँ शक्ति पार्टीका सहसंयोजक रामचन्द्र झा, संगठन विभागका प्रमुख देबेन्द्र पौडेल, डा. प्रविण मिश्र, महेन्द्र पासवान, रामकुमार शर्मा लगायतका अभियन्ताहरुले मन्तव्य राखेका थिए । उहाँहरुले एमालेले मधेस र पहाडको एकता तोड्न अभियान चलाएको तर आफूहरु तराई/मधेस, हिमाल, पहाडको भावना जोड्न तथा राष्ट्रिय एकता मजबुत बनाउन अभियान चलाएको बताएका छन् ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.