शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लगातारको बर्षाका कारणल सप्तरीका ३० हजार घर डुबानमा
साउन २८, २०७४ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
राजविराज ,२८ साउन । लगातारको बर्षापछि आएको बाढीले सप्तरीको दर्जनौ गाबिसका करिब ३० हजार भन्दा बढी घर डुबानमा परेका छन ।विगत चार दिन यताको अबिरल वर्षाका कारण सप्तरी जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिकाहरुमा आएको बाढीका कारण करिब ३० हजार भन्दा बढी घर डुबानमा परेका छन् भने हजारौ घर परिवार विस्थापित भएका छन् ।खाँडो नदी ,त्रियुगा नदी ,पाँची ,जुडी ,खडग ,सुरुङ्गा सहितका विभिन्न नदी तथा खोलामा आएको बाढीले सप्तरीका ६० प्रतिशत गाबिस डुबानमा परेको सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसमध्ये जिल्लाको लौनिया ,तिलाठी ,रम्पुरा मल्हनिया ,सकरपुरा ,कोईलाडी ,इनर्वा गाबिस बढी प्रभावित रहेको प्रजिअले बताउनुभयो । ति गाबिसको प्रत्येकको घरमा पानी पसिसकेको तथा बाढी प्रभावितहरु घर नजिकैको स्कुल तथा बाँधमा शरण लिई रात्त बिताउनुपर्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो । 

लगातारको बर्षापछि आएको बाढीले रम्पुरा मल्हनिया ,सकरपुरा ,लौनिया ,तिलाठी सहितका गाबिसका प्रत्येक ब्यक्तिको घरमा पानी पसेपछि पुर्ण रुपमा स्थानीयबासीहरु क्रसित बनेका छन । बाढीका कारणले बाढी प्रभावितहरु कोशी बाँधमा शरण लिई रात्तभरी बस्नुपर्ने अवस्था रहेका छन । बाढीकै कारणले कोशी पलारमा दर्जनौ पशु चौपायाहरु समेत डुबानमा पर्नुका साथै बेपत्ता समेत भएको स्थानीयहरुले बताएका छन । यस्तै खाँडो खोला कटान हुँदा सकरपुराका करीब ८ सय घरपरिवार डुबानमा परेका छन । 

त्यस्तै विभिन्न खोलामा आएको बाढीले जिल्लाको डाक्नेश्वरी नगरपालिकाका वडा न. १ कबिलासा ,सिस्वा बेल्ही ,रौतहट ,रामनगर ,मधुपटी ,हरीपुर ,मल्हनमा ,पटेर्वा ,टिकुलिया सहितका गाबिसहरु समेत डुबानमा परेका छन । यसैगरी लगातारको बर्षाका कारणले जिल्लाको पुर्वी भेगका डिमन ,गोईठी ,कंचनरुप नगरपािलका ,डाढा ,मैयनाकडेरी ,मधवापुर ,देउरी भरुवा ,फर्सैठ ,को.मधेपुरा लगायतका गाबिसहरु समेत डुबानमा परेका छन ।

त्यस्तै जिल्लाको खाँडो, जिता, बिहुल, त्रियुगा लगायतका नदीहरुमा आएको बाढीका कारण नगर तथा गाउँका वस्तीहरु डुबानमा परेको हो । तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्वर–५ कुशहा र बनरझुलाको वस्तीमा जिता नदीको बाढी पसेका कारण ३ सय ५० परिवार घर छाडेर सडक तथा सुरक्षित स्थानमा बसेका छन् । वर्षा नरोकिएका कारण चारैतर्फ पानी बगिरहेका कारण केही परिवार वस्तीबाट सुरक्षित स्थानसम्म पुग्न सक्ने अवस्था छैन । कोशी नदीको पानी पसेर हनुमाननगर योगिनीमाई नगरपालिकाको वडा नम्वर ७ र १४  मल्हनियाँ टोलको ३ सय १० घर डुबानमा परेको छ  भने ५० परिवार विस्थापित भएका छन् । यसैगरी तिलाठी कोइलाडी, सकरपुरा र बेल्हीको करिब ४ सय घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बाढीले खाँडो नदीको बाँध पौवाँ, बिरौल र देउरीभरुवामा भत्काउँदा डुमरी, शिबथान, फर्सैठ पकरी, पौवाँ, पिपराही, मलेठ, राजविराज नगरपालिकाको वडा नम्वर–४, ५, ६, ७, ८ र १५ को देउरी भरुवामा सहितका वस्तीहरुमा जलमग्न भएको छ । राजविराज नगरपालिकाको सडकहरुमा तीन फिटसम्म पानी बगिरहेकोले आवागमन समेत अवरुद्ध भएको छ ।

सरकारी कार्यालयहरुमा समेत बाढीको पानी पसेको छ । राजविराज नगरपालिकामा विगत डेढ दशक पछि यस्तो बाढी आएको हो ।वर्षा नरोकिएका कारण जिल्लाको रम्पुरामल्हनियाँ, तिलाठी, सकरपुरा, लौनियाँ, को.वर्साइन, बनरझुला, कुशहालगायतका वस्तीहरु जोखिममा परेको छ । यता जिल्लाको अति विकट मानिने गोबरगाढा बस्तीमा समेत सप्तकोशी नदीको पानी पसेका कारण त्यहाँका वासिन्दाहरु डुङ्गा चढेर सुरक्षित गन्तव्यतर्फ जान थालेका छन् ।बाढीले जिल्लाको हजारौं विघा धानबाली समेत डुबानमा परेको छ । यस्तै लगातारको बर्षापछि आएको बाढीले जिल्लाको बरही बिरपुर ,कोचाबखारीका सयौं घर डुबानमा पर्नुका साथै सो गाबिसमा रहेका दर्जनौ कुखुरा फर्ममा पानी पस्दा लाखौंको क्षति भएको स्थानीयहरुले बताएका छन ।

त्यस्तै विगत चार दिनयताको अविरल वर्षाका कारण सप्तरी जिल्लाको गाउँदेखि नगरसम्म जलमग्न बन्न पुगेको छ । जिल्लाको सदरमुकाम राजविराजको विभिन्न वडाका बस्तीहरुमा बाढीको पानी पस्दा जलमग्न बन्नुपुगेको छ । घरहरुमा पानी पस्दा सर्वसाधारण जनताको दैनिकी कष्टकर बनेको छ । वर्षा नरोकिदा राजविराजको मुख्य सडकका साथै विभिन्न सडकहरुमा तीन फिटसम्म पानी बगिरहेको छ । विगत डेढ दशक पछि राजविराजमा यस्तो बाढी आएको नगरवासीहरुको भनाई छ । यस्तै राजविराज नगरपालिका ९ राजदेवी टोलका करीब ३० परिवारको घर पुर्ण रुपमा डुबानमा परेपछि बाढी पिडित परिवारहरु बिच्चलीमा परेका छन । बाढी पिडित परिवारहरुले घर नजिकैको रााजदेवी स्कुलमा बाल बच्चा सहित भोकै बस्न बाध्य भएका छन । 

यसैबिच लगातारको बर्षापछि आएको बाढीले जिल्लाको राजविराज कुनौली सडक खण्ड ,डिमन पकरी भारदह सडक खण्ड ,राजविराज हनुमाननगर भारदह सडक खण्ड लगायतका सडकहरु अवरुद्ध भएका छन । यस्तै पुर्व पश्चिम राजमार्गको विभिन्न स्थानमा पानी जमेका कारणले सडक अवरुद्ध हुन पुगेका छन ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.