शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
चिसोका कारण सिरहामा मृत्यु हुनेको संख्या ५ पुग्यो , बरियारपट्टीमा
पौष २६, २०७४ | फिरोज शेख

फिरोज शेख  लहान २०७४ पौष २६ - 
पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा थप एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर मंगलबार सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ सीतापुरका ४१ वर्षीया माकोदेवी पासवानको मृत्यु भएको हो । अति विपन्न पासवानको कठ्याङ्ग्रिएर आफ्नै घरमा मृत्यु भएको स्थानीयवासी तथा सीतापुर गाविसका पूर्वअध्यक्ष देवनारायण साहले जानकारी दिनुभयो ।

यस्तै अत्यधिक चिसोको कारण कल्याणपुर नगरपालिका घर भई सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित मामाघर आएकी ५ वर्षीया काजलकुमारी मण्डलको मृत्यु भएको छ। चिसोको कारण निमोनियाले थलिएकी काजललाई उपचारका लागि लहानस्थित राम कुमार उमा प्रसाद स्मारक अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको परिवारजनले बताएका छन् । यो सँगै सिरहामा चिसोका कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यसअघि गत सनिबार गोलबजार नगारपालिका–४ का शम्भु साहको ६ वर्षीय छोरा लभकुमार साह र गोलबजार–२ लालपुरका ७० वर्षीय रामप्रसाद महतो र धनगढीमाई नगरपालिका–७ कसहाका ५५ वर्षीय रामरतन महतोको मृत्यु भएको थियो । श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित महतोको चिसोका कारण मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।

अत्यधिक जाडोका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ। सोमबार र मंगलबार घाम उदाए पछि यहाका वासिन्दाले केहि राहत महसुस गरेता भएपनि आज बुधबार चिसो हावा संगै बाक्लो हुस्सो लागेकोले मोर्निग वल्क गर्ने मानिसहरुको संख्यामा कमि आउनुका साथै सवारी साधन र बजारमा सर्वसाधारणको उपस्थिति न्यून देखिएको छ। यता अस्पतालमा रुघा खोकी, ज्वरो, कोल्ड डायरिया लगायतका बिरामी बढेका छन् । यसैबीच सिरहाको कर्जन्हा नगरपालिकाले मंगलबार वडा नं ६ र ७ का १२० विपन्न गरिब घरपरिवारलाई कम्बल वितरण गरेको छ । वडा नं ६ का ७० र वडा नं ७ का ५० अति विपन्न परिवारलाई कम्बल वितरण गरेको नगरपालिकाका प्रमुख गंगा पासवानले जानकारी दिएका छन्।

यसै बीच सिरहाको बरियारपट्टी गाउपलिकामा अत्यधिक चिसोका कारण जता ततै हिऊ ( वर्फ ) जमेको छ। सिरहा बरियारपट्टी निवासी संजय राजले दिएको जानकारी अनुसार बरियारपट्टी बजार क्षेत्र लगायत बिभिन्न ठाउमा पानि जमेर हिऊ ( वर्फ ) जमेकोले त्यहाका दलित बिपन्न परिवारका करिब २५ घरधुरी प्रभावित भएका छन्।विगत दुइ साता देखि बढेको चिसोका कारण त्यहाका दलित परिवारहरु एउटा कम्बलको भरमा घरका सम्पूर्ण सदस्यहरु अति कष्टकर जीवन बिताउन बाध्य भएको र बिभिन्न संघ - संस्था संगै स्थानीय निकायमा समेत जानकारी गराउदा हाल सम्म कुनै राहत उपलब्ध नभएको संजयले बताए। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.