शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
विश्व क्यान्सर दिवस लहानमा पनि मनाइयो
माघ २२, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ माघ २२ - 
विश्व क्यान्सर दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी लहानमा पनि मनाइएको छ । सोमबार नेपाल अर्बुद रोग निवारण संस्था लहान शाखाको आयोजनामा विभिन्न संघ संस्था तथा विद्यालयहरुको सहभागितामा मनाइएको हो । समयमै उपचार गरे क्यान्सर रोग निको हुने सन्देश दिदै कार्यक्रममा प्रमुख अतिथि लहान नगरपालिकाका मेयर मुनि साहले क्यान्सर रोग लाग्न नदिन धुम्रपान, मदिरा पान, विषादि हालेका खाद्य बस्तु नखान सबैलाई आग्रह गर्नु भयो । मेयर साहले चितवन पछिको दोस्रो व्यान्सर अस्पताल लहानमा बन्न लागेको जानकारी दिदै लहान नगरपालिकाबाट हुने सहयोग गर्ने प्रतिवद्धा व्यक्त गर्नुभयो । उहाँले हाललाई लहान नगरपालिका वडा नम्बर ७ मा अवस्थित नगरपालिको मातहतमा रहेको भवनमा १५ शैय्याको क्यान्सर अस्पताल संचालन गर्ने कार्य शुरु भैसकेको जानकारी दिनुभयो ।

नेपाल अर्बुद रोग निवारण संस्था लहान शाखाका अध्यक्ष अशोक लाल अमात्यले धूम्रपान त्याग्ने, जीवनशैली परिवर्तन, सन्तुलित खानपान र शारिरीक ब्यायाम भएमा क्यान्सरबाट बच्न सकिने बताउँदै क्यान्सर अस्पताल संचालन गर्न भवन नगरपालिकाले तत्काल उपलब्ध गराएको प्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रममा सहभागी सम्पूर्ण संघसंस्था, विद्यालयलगायत संचारकर्मीहरुमा धन्यवाद ज्ञापन गर्नु भएको थियो । पशुपति आदर्श माविको प्राङ्गणबाट निकालिएको ¥याली लहानका विभिन्न भागकोपरिक्रमा गरी पुनः पशुपति आदर्श माविमा आएर कोण सभामा परिणत भएका थिए ।

नेपालमा हाल जनसंख्याको आधारमा करीव ६५ हजार भन्दा बढी क्यान्सर रोगी रहेका छन् । विश्व स्वास्थ संगठनका अनुसार विश्वमा नसर्ने रोगको प्रकोप बढीरहेको छ ।नसर्ने रोगमा क्यान्सर, मुटुरोग, मृगौला रोग, मधूमेह, उच्च रक्तचाप प्रमुख हुन् । यी रोग खानपान, रहनसहन, जीवनशैली र वातावरणका कारणले हुन्छ ।विभिन्न अनुसन्धानले ९० प्रतिशत क्यान्सरको प्रमुख कारण धूम्रपान, सूर्ति, अस्वस्थकर खानपान, रहनसहन र वातावरणीय प्रभाव रहेको देखाएको छ । १० प्रतिशत क्यान्सर भने शरीरको आन्तरिक कारणले हुन्छ । यसका साथै विकिरण, ब्यवसायीक प्रदूषण, भाइरस, परजीवी, सरसफाइमा कमी, बंशाणुगत कारण, शारीरिक दुर्वलतालाई पनि क्यान्सरका कारणका रुपमा लिइएको छ ।क्यान्सरका लक्षणहरूमा स्वर परिवर्तन हुनु, दुब्लाउदै जानु, शरीरमा गाँठागुठी वा गिर्खा देखिनु, भोक नलाग्नु, कोठी वा मुसाको आकार देखापर्नु, थकाई बढी लाग्नु, लामो समयसम्म घाउ निको नहुनु, लगातार खोकी लाग्नु, महिनावारी हंँदा रगत बढी जानु जस्ता लक्षण क्यान्सर रोगका लक्षण हुन् ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.