शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहा जिल्लामा ३९७ स्वाब संकलन , लकडाउन बैशाख २५ गते
बैशाख १४, २०७७ | फिरोज शेख

फ़िरोज शेख लहान २०७७ बैशाख १४ - 
सिराहाका स्थानीय तहमा कोरोना भाइरस (कोभिड– १९) परीक्षणका लागि शनिबार र आईतबार गरि दुई दिन गरिएको स्वाब संकलनमा ३९७ जनाको स्वाब संकलन गरिएको छ। सरकारले प्रदेश २ मा कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि दुई दिने स्वास्थ्यकर्मी सहितको टोली परिचालन गरेको थियो। प्रदेश २ का ८ वटै जिल्लाका २७ स्थानहरुमा १५ सय भन्दा बढी स्वाब नमूना संकलनका लागि टोली परिचालन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना भाइरस (कोभिड १९)को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मी सहितको टोलीले सिरहाका स्थानीय तहमा कोरोना भाइरस (कोभिड– १९) परीक्षणका लागि शनिबार देखि स्वाब संकलन सुरु गरेको थियो। स्वाब संकलन गर्ने कार्यलाई निरन्तरता दिदै आज आइतबार दोस्रो दिन सखुवानन्कारकट्टी गाउँपालिकाको २ स्थानमा ३ महिला सहित ३० जनाको स्वाब संकलन गरिएको छ। त्यस्तै कल्याणपुर नगरपालिकामा ५७ जना , औरही गाउँपालिकामा २ महिला सहित २१ जना , सिरहाको रमौलमा २१ जना र सुखिपुर नगरपालिकामा १ जना महिला सहित २५ जना गरि आइतबार १५४ जनाको स्वाब संकलन गरिएको एल आर एल लहानका संचालक तथा मेलानका केन्द्रीय सदस्य समेत रहेका मेडिकल ल्याब टेक्निसियन विजयकुमार यादवले जानकारी दिएका छन्। 

यसै बीच नेपाली सेना, मेडिकल ल्याब एसोसिएसन अफ नेपाल (मेलान) र इडिसिटी बाट आएको प्राविधिक टोलीले शनिबार पहिलो दिन लहान नगरपालिकामा ६९ जना, गोलबजार नगरपालिकामा ६४ जना , मिर्चैया नगरपालिकामा ६० जना र अर्नमा गाउँपालिकामा ५० जना गरि २४३ जनाको स्वाब संकलन गरेको थियो। जसमा गोलबजार नगरपालिकाको ६४ जना मध्ये १० जना धनगडीमाई नगरपालिकाको रहेको गोलबजार स्वास्थ्य शाखा प्रमुख सरोज कुमार कर्णले जानकारी दिएका छन। त्यस्तै अर्नमा गाउँपालिकाको ५० जना मध्ये २ जना विष्णुपुर गाउँपालिकाको रहेको स्वास्थ्य शाखा प्रमुख राम कुमार महतोले जानकारी दिए। यसै बीच आइतबार संकलित स्वाबको नमुना परीक्षण गर्नका लागि २४ घण्टा भित्र पठाउनुपर्ने भएको हुँदा एम्बुलेन्स बाट शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल काठमाडौं पठाई सकिएको प्रमुख जिल्ला अधिकारि सरोज गुरागाईंले जानकारी दिनुभयो। उहाले शनिबार पठाईएको २४३ जनाको रिपोर्ट भोलि वा पर्सि सम्म आइपुग्ने जानकारी गराउनु हुँदै त्यस पश्चात मात्र सिरहा जिल्ला कोरोना भाइरस (कोभिड– १९) को संक्रमण बाट कतिको सुरक्षित रहेको तथ्य बाहिर आउने उहाले बताउनु भयो। 

यसै बीच सरकारले लकडाउनलाई २५ गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नै खतरामुक्त भइनसकेकाले कोरोना रोकथाम तथा नियन्त्रणको प्रयास जारी राख्नुपर्ने बताएका थिए । वैशाख २५ सम्म लकडाउन गर्ने र स्थितिमा सुधार आए सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउन संसद अधिवेशन आहृवान गर्न सकिने उनले बताएका छन् ।सरकारले गत चैत ११ देखि देशव्यापी लकडाउन सुरु गरेको हो । पहिलोचोटि चैत १८ सम्म लकडाउन घोषणा गरिएको थियो ।  दोस्रो चरणमा चैत २५ सम्म लकडाउन घोषणा गरिएको थियो भने तेस्रो चरणमा वैशाख ३ सम्म लकडाउन लम्ब्याइएको थियो ।  चौथो चरणमा वैशाख ३ देखि वैशाख १५ सम्म लकडाउन गर्ने निर्णय गरिएको थियो ।  आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पाँचौं चरणमा लकडाउन थप गर्दै वैशाख २५ सम्म लम्ब्याएको हो । 

आइतबार झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् ।कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।यसअघि १२ वैशाखमा झापाका ६२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको थियो । झापामा थप एक जनालाई कोरोना संक्रमण देखिएसँगै नेपालमा कुल संक्रमितको संख्या ५२ पुगेको छ । नेपालमा कोरोना संक्रमण पुष्टि भएकामध्ये १६ जना उपचारपछि घर फर्किएका छन् ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.