फिरोज शेख लहान २०७७ भदौ २८ -
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सिरहामा निषेधाज्ञाको समय बढाएपनि खुकुलो गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले आदेश पत्र जारी गर्दै असोज १० गतेसम्मका लागि निषेधाज्ञा बढाएको जानकारी गराएको छ। सिरहा जिल्लाभर अत्यावश्यक पसलहरु विहान ५ बजेदेखि अपरान्ह ३ बजेसम्म खोल्न पाइने र अन्य पसलहरु विहान ८ बजे देखि ५ बजे सम्म खोल्न पाइने निर्णय गरिएको छ । यस्तै होम डिलेभरी दिने सर्तमा होटल तथा रेष्टुरेन्टलाई साँझ ७ बजेसम्म खोल्न दिने बताइएको छ।जिल्लामा कोभिड - १९ को संक्रमण नियन्त्रण गर्न भदौ २७ गते राती १२ बजेबाट लागु हुनेगरी दुई साताका लागि असोज १० गतेसम्म निशेधाज्ञा थप गरिएको हो। यसअघि जिल्लामा भदौ २७ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।जिल्ला प्रशासन कार्यालयले आदेश पालना गर्न जिल्लाका १७ वटै स्थानीय तह, राजनीतिक क्षेत्र, उद्योग वाणिज्य संघ ,संस्था तथा समाजिक संघ संस्थालाई अनुरोध गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलद्वारा हस्ताक्षरित आदेश पत्रमा अघिको भन्दा निषेधाज्ञा खकुलो हुनेगरी आदेश गरिएको छ । हाटबजार, विद्यालय, सभा, जुलुस, जिमखाना, सभागोष्ठी जस्ता मानिस भिडभाड हुने खालका कार्यमा बन्देज लागाएको भएपनि नीजी तथा भाडाका जीप, कार, भ्यान जस्ता सबारी साधनमा मास्क लगाई दुरी कायम गरी यात्रा गर्न पाइने उल्लेख गरिएको छ । यसअघि चारपांग्रे अत्यावश्यक खाद्यान्न, औषधी, इन्धन, दुघ लागयतका सवारी साधन चलेको भएपनि निजी सवारी साधनमा भने रोक लगाइएको थियो । यस पटकको आदेशानुसार निजी सवारीसाधन सुरक्षा सतर्कता अपनाएर जिल्लाभरी चलाउन पाउने भनिएको छ।निषेधाज्ञाको अवज्ञा गरेमा कानुन बमोजिम कारबाही गर्ने जनाइएको छ।