शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सरुवा भई आएका डाक्टरको हाजिर रोक्न प्रशासनमा ताला
आश्वीन २६, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ असोज २६ -
सिरहाको लहान - ३ मा अवस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालमा सरुवा भई आएका डाक्टरको हाजिर रोक्न अस्पतालको  प्रशासनमा ताला लगाई आकस्मिक सेवा समेत बन्द गरिएको छ। बाराको कलैया अस्पतालबाट सरुवा भएर असोज २३ मा हाजिर हुन आएका १० औं तहका बरिष्ठ फरेन्सिक मेडिकल अधिकृत डा. बीरेन्द्रकुमार मण्डललाई हाजिर हुन नदिन लहानका मेडिकल सुपरिटेण्डेण्ट डा. सुनिल  कुशवाहाले अस्पतालमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको भन्दै आफूखुशी आकस्मिक सेवा बन्द गरी प्रशासन प्रवेश गर्ने मूल ढोकामा समेत ताला लगाएको र आफुहरुलाई कुनै जानकारी नदिएको अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष रोहित महतोले संचारकर्मीहरु समक्ष बताएका छन्।अध्यक्ष महतोका अनुसार ‘मूल ढोकामै ताला लगाइएकोले मेरो कार्यकक्षसहित, प्रशासन, लेखा, स्टोरकिपर लगायतको कोठा बन्द छ ‘व्यवस्थापन समितिसँग कुनै समन्वय नै नगरी डा. कुशवाहाले ताला लगाएर आकस्मिक सेवा बन्द गर्दा बिरामीलाई मर्का पर्नुकासाथै दैनिक प्रशासनिक काममा समेत बाधा पुगेको उनले बताए।
 
यसै बीच व्यवस्थापन समितिका सदस्य गोपालप्रसाद गुप्ताले कोरोना महामारीको बेलामा अन्य स्वास्थ्य समस्याको उपचार गराउन आउने बिरामीलाई पनि समस्या  पर्नेगरी आकस्मिक सेवा बन्द गर्ने, सरुवा भएर आएका डाक्टरको हाजिर नै गर्न नदिएर डा.कुशवाहाले मर्यादाको सीमा नाघेको आरोप लगाएका छन्। सदस्य गुप्ताका अनुसार प्रदेश - २ सामाजिक विकास मन्त्रालयको निर्णयको आधारमा सरुवा भएर आएका आफ्नै सहकर्मी डाक्टर लाई हाजिर नै हुन नदिने गरी ताला लगाइनु र हाजिरी रजिष्टर समेत  गायब गरिनु भन्दा अमर्यादित काम के हुन सक्छ भन्दै प्रश्न गरेका छन्। 
    
कलैया अस्पतालको च.नं. ३६९, २२ असोज २०७७ को पत्र अनुसार रमाना लिएर लहान आए लगतै अस्पताल पुगेर मेसु.डा. सुनिल कुशवाहालाई हाजिर गराउन आग्रह गरेपनि हाजिर गर्न नदिएको डा. मण्डलले गुनासो गरेका छन्। हाजिर हुन् आएको पहिलो दिन शुक्रबार परेकाले त्यतिकै फर्किए पनि आइतबार पुनः अस्पताल पुग्दा डाक्टर कुशवाहा अस्पतालमा नभएको र मिर्चैया गएको भनि प्रशासन बाट कुरा आएपछि उहा सँग भेट हुन नसक्दा त्यतिकै फर्किनु परेको डा. मण्डलले बताए। 

 मे.सु. कुशवाहाले प्रशासन प्रवेश गर्ने मूल ढोकामा ताला झुण्ड्याउनुका साथै हाजिरी रजिष्टर गायव गरी आकस्मिक सेवा नै बन्द गरेपछि २६ असोजमा समितिले बैठक गरी नयाँ रजिष्टर खडा गरी डाक्टर मण्डललाई हाजिरी गराएको छ । समितिले अस्पताल प्रमुख जस्तो व्यक्तिले सरुवा भई आएका कर्मचारीलाई हाजिर हुन अवरोध सिर्जना गर्दा दैनिक कामकाज समेत प्रभावित भएकाले मन्त्रालय तथा स्थानीय प्रशासनलाई कारबाहीको माग समेत गरेको छ । डा. कुशवाहाले लहान अस्पतालमा अन्य डाक्टर  नआउँदा सात वर्षसम्म मे.सु. पदमा रही अस्पताल चलाएको समितिले जनाएको छ।

यता लहानका मेडिकल सुपरिटेण्डेण्ट डा. सुनिल  कुशवाहाले आफु माथि लगाइएको आरोप गलत भएको बताएका छन्।  रमाना लिएर लहान आउनु भएका डाक्टर मण्डलको पत्रमा सामाजिक विकास मन्त्रालयले कति दिनका लागि , कुन प्रयोजनमा पठाएको भनि उल्लेख नभएको हुँदा कुन पदमा पठाइएको भनि बुझेर नियमानुसार प्रक्रिया मिल्ने भए हाजिर गराउन कुनै समस्या नभएको बताएका छन्। दुई दिन अस्पतालको कार्य समीक्षामा व्यस्त भएको हुनाले कार्यलयमा उपस्थित नभएको र अस्पतालमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हुनाले कर्मचारीहरु संगको छलफल पश्चात अस्पतालमा कार्यरत कर्मचारीहरुको पिसिआर रिपोर्ट नआउन जेल सम्म १२ घन्टाका लागि अस्पतालको सेवा बन्द गर्नु परेको उहाले बताएका छन्।  

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.