शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरी प्रशासनले खोलेको ताला केही घण्टा नबित्दै मोर्चाद्वारा पुनः तालाबन्दी
चैत्र १७, २०७३ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी, १७ चैत । 
परिमार्जनसहित संविधान संशोधन र प्रदेशको मातहतमा स्थानिय तहको पुनःसंरचनाको माग गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले चैत ३ गते जिल्लाका सम्पूर्ण स्थानिय तहका कार्यालयहरुमा लगाएको अनिश्चितकालिन तालाबन्दी आज जिल्ला प्रशासन कार्यालयले खोलेपछि पुनः मोर्चाले तालाबन्दी गरेको छ । जिल्ला समन्वय समिति सप्तरी र राजविराज नगरपालिका कार्यालयहरुमा लगाइएको तालाबन्दी आज बिहान १० बजे जिल्ला प्रशासन कार्यालय सप्तरीले खोलेको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले जानकारी दिनुभयो । यता प्रशासनले खोलेको ताला केही घण्टा नबित्दै पुनः मधेशी मोर्चाका नेता कार्यकर्ताहरुले तालाबन्दी गरको मोर्चाका कार्यवाहक संयोजक सतिश कुमार सिंहले जानकारी दिनुभयो । सो क्रममा मोर्चाका कार्यकर्ताहरुले राजविराज नगरपालिका कार्यालयको झ्याल, ढोका तथा अन्य फर्निचरहरु तोडफोड गरेका छन् । 

यस्तै जिल्ला समन्वय समिति सप्तरीमा समेत मोर्चाले स्थानिय विकास अधिकारी तथा कार्यक्रम अधिकृतको बोर्ड, कुर्सी तोडफोड गरेका छन् । यसअघि मोर्चाले सम्पूर्ण गाविस र नगरपालिका प्रमुख र नगर वडा कार्यालयहरुमा तालाबन्दी गर्दै निर्वाचनसँग सम्बन्धित कुनै पनि कार्यक्रमलाई अगाडि बढाउन नदिने जनाएको थियो ।   गत फागुन २२ गते मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार जिल्ला समन्वय समिति सप्तरीमा ८ वटा नगरपालिका र ९ वटा गाउँपालिका स्थानीय तह पुनःसंरचना अनुरूप कायम गरिएको छ । सप्तरीमा राजविराज नगरपालिका, कंचनरुप नगरपालिका, शम्भुनाथ नगरपालिका, सप्तकोशी नगरपालिका र हनुमाननगर योगिनिमाई गरि पाँच नगरपालिका कायम थियो भने नयाँ संरचना अनुसार सप्तकोशी नगरपालिकालाई गाउँपालिका बनाइएको छ ।  

यस्तै पाँच नयाँ नगरपालिकामा डाक्नेश्वरी, बोदेबर्साइन, खडक, सुरुङ्गा र हनुमाननगर कंकालिनी नगरपालिका थपिएको छ भने कृष्णासवरन गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, महदेवा गाउँपालिका, सप्तकोशी गाउँपालिका, तिरहुत गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, बेल्हीचपेना गाउँपालिका र विषणपुर गाउँपालिका कायम गरिएको छ । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.