75 Views
फिरोज शेख लहान २०८२ बैशाख ३१ -
सिराहाको लहान नगरपालिका–१५, ढोढनास्थित राजदेवी पञ्चावती मन्दिरमा चण्डी पूर्णिमाको अवसरमा १० हजार ३०८ बोका पाठीको बली दिइएको छ। पूर्व–पश्चिम लोकमार्गमा पर्ने लहानबाट करिब १० किलोमिटर उत्तरमा चुरे जंगलको फेदीमा रहेको मन्दिरपरिसरमा सोमबार बिहानदेखि हजारौँको संख्यामा पशुपक्षीको बली दिइएको थियो। लहान–१५ का वडाध्यक्ष तेजनारायण चौधरीले दिएको जानकारी अनुसार सोमबार रातिसम्म भएको बलि प्रदान र मंगलवार अबेर सम्म रसिदको मिलान गरे पछि १० हजार ३०८ पशुबली भएको यकिन भएको बताउनु भयो। हरेक वर्ष वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्धजयन्तीको दिन राजदेवीको भाकलअनुसार पूजाअर्चना गरे सन्तान प्राप्ति, रोगव्याधीबाट मुक्ति र मनोकांक्षा पूरा हुने आस्था सहित हजारौँ श्रद्धालुहरू बलि चढाउन र पूजाअर्चना गर्न आउने गरेको उनले बताए। श्रद्धालुहरूले आ–आफ्नो भाकलअनुसार बोका ,परेवा, हाँस, कुखुरासमेत चढाउने गरेको समितिले जनाएको छ। मन्दिरमा पशुपछीको बली दिन सिराहा, सप्तरी, उदयपुर, सुनसरी, मोरङ, धनुषासहित छिमेकी मुलुक भारतको बिहार राज्यअन्तर्गत उत्तरी क्षेत्रका दर्शनार्थीहरू चण्डी पूर्णिमाको अघिल्लो मध्यरातदेखि नै पूजा र बालिका लागि लाम लागेका थिए ।