7 Views
सियाराम यादव कतार, फेब्रुअरी २१, २०२५ –
नेपाली समाज कतार प्रवासीहरुका लागि महत्वपूर्ण संस्था बन्दै गाइरहेको नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री तथा जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले बताउनु भएको छ। जनता समाजवादी पार्टी नेपालको भातृ संगठन, नेपाली समाज कतारद्वारा आयोजित भेटघाट, स्वागत सम्मान तथा शुभकामना कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नु हुँदै उँहाले यस्तो बताउनु भएको हो। नेपाली समाज कतारका वर्तमान अध्यक्ष मनराज (मनिष) यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपा नेपालका अध्यक्ष यादवले नेपाली श्रमिकहरूको योगदान र उनीहरूका समस्याबारे जिकिर गर्नु भएको थियो। उनले नेपाली समाज कतार प्रवासी नेपालीहरूलाई संगठित गर्ने र सहायता प्रदान गर्ने महत्वपूर्ण संस्था बनेको भन्दै प्रशंसा गर्नुभयो। जसपा नेपालले संघीयता, नागरिक अधिकार, र समावेशी लोकतन्त्रका लागि लड्दै आएको उल्लेख गर्दै, मधेस आन्दोलनले सम्मान अधिकारका लागि गरेको संघर्षलाई स्मरण गर्दै नेपालमा अझै पनि मधेशी , थारू, आदिवासी, दलितलगायतका समुदायहरू माथि हुने विभेदको आलोचना गर्दै सरकारको विभेदकारी नीतिहरू अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो। उक्त अवसरमा उपस्थित विशिष्ट अतिथिहरूलाई सम्मानपत्र प्रदान गरिनुका साथै कार्यसमिति सदस्य तथा पदाधिकारीहरूलाई कदरपत्रले सम्मान गरिएको थियो। नेपाली समाज कतारका अध्यक्ष मनिष यादवले संस्थालाई सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्नु भयो।