7 Views
फिरोज शेख लहान २०८१ फागुन ५ -
राससले आफ्नो ६४ औँ वार्षिकोत्सव अन्तरक्रिया कार्यक्रम गरेर मनाएका छन्। आइतबार मधेश प्रदेश सभा सदस्य राज कुमार गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै उहाले मुलुकको एक मात्र समाचार समिति राष्ट्रिय समाचार समितिको सेवालाई प्रभावकारी बनाउन राज्यले ध्यान दिनुपर्ने बताउनुभएको छ। राष्ट्रिय समाचार समिति (रासस) को ६४ औँ वार्षिकोत्सवको सन्दर्भमा रासस सिरहा कार्यालयद्वारा लहान स्थित जिल्ला उधोग वाणिज्य संघको सभा हलमा आयोजित ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा गुप्ताले रासस मुलुकको प्रतिष्ठा र हुलाक टिकटजस्तै भएकाले यसलाई सबल, आत्मनिर्भर र सेवालाई प्रभावकारी बनाउन राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । मधेश प्रदेश सभा सदस्य गुप्ताले मुलुकको एक मात्र समाचार एजेन्सी राससप्रति राज्यको उचित ध्यान पुग्न सकेको छैन। राससलाई जनताको सञ्चारमाध्यमका रुपमा विकास गर्नु जरुरी छ।”आवाजविहीन र मधेश प्रदेशका जनताको आवाजलाई राससले समेट्नुपर्ने सुझाव दिनुहुँदै उहाँले राससले सत्ताधारी नेता कार्यकर्ताको कुरा मात्र नभई मधेशका हुलाकी क्षेत्र तथा कुनाकाप्चामा रहेका जनताका कथा र पीडासमेत सम्प्रेषण गर्नुपर्ने बताउनुहुँदै किसानले सिँचाइका लागि बीउबिजन र मलखाद नपाएर छटपटाइरहे पनि राष्ट्रियस्तरका सञ्चारमाध्यमले ती किसानको समस्यालाई उचित स्थान नदिएकोप्रति गुनासो गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि लहान नगरप्रमुख महेश प्रसाद चौधरीले आधिकारिक, विश्वसनीय, सन्तुलित समाचार सम्प्रेषणमा राससले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । राससले समाचार सामग्रीको गुणस्तरीयताका लागि समयसापेक्ष प्रविधिको प्रयोगमा जोड दिनुपर्ने उहाँको भनाइ थियो। प्रविधिको विकाससँगै राससले पनि आफ्ना सेवा थप्दै जानु सकारात्मक भएको चर्चा गर्नुहुँदै चौधरीले राससले भ्रष्टाचार, बेथितिका विरुद्ध निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुहुँदै लहान स्थित रहेको रासस भवन जिर्ण बन्दै गैरहेको भनि जानकारी आएको हुँदा मर्मत सम्भारका लागि ५ लाख रकम उपलब्ध गराउने उद्घोष गर्नु भयो।
सिराहाका बरिष्ठ पत्रकार अर्जुन थपलिया र जिबछ उदासीले पत्रकारिता पेसा संवेदनशील भएकाले जिम्मेवारीपूर्वक पत्रकारले कसैको चाटुकार नबनी स्वतन्त्र रुपमा आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुहुँदै सञ्चार क्षेत्र सङ्कटपूर्ण अवस्थामा रहेकाले यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासङ्घ सिरहाका पुर्व सभापति दिनेश्वर प्रसाद गुप्ताले मुलुकमा आएको परिवर्तनसँगै राससमा केही सुधारको प्रयास भए पनि राससका समाचार सामग्रीमा ह्रास आइरहेकाले त्यसमा पनि सुधार गर्नुपर्ने बताउनुहुँदै सिरहा जिल्लाका १७ वटै स्थानीय तहले पत्रकारहरुलाई जीविकोपार्जन सहित स्वतन्त्र भई पत्रकारिता गर्ने वातावरण बनाउनु पर्ने कुरामा जोड दिनुभयो। रासस सिरहाका प्रमुख सुदिप राउतको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्ला उद्योग वाणिज्य सङ्घ सिराहाका अध्यक्ष विकास सारडा , नेपाल पत्रकार महासङ्घ सिरहाका उपाध्यक्ष रोयान्टर मण्डल,प्रेस सेन्टर सिरहाका अध्यक्ष राम भरोशी यादव, प्रेस चौतारी सिरहाका अध्यक्ष शिव कुमार साह ,प्रेस युनियन सिराहाका अध्यक्ष निर्मला दहाल , लेखक तथा सामाजिक अभियन्ता राजेश बिद्रोही , जिल्ला प्रहरी कार्यलय सिरहाका सुचना अधिकारी डिएसपी बिरेन्द्र कुमार पासवान , मानवाधिकारकर्मी राज कुमार राउत, नेपाल टेलिभिजनका प्रदेश प्रमुख हिरा लाल चौधरी लगायतले सञ्चारक्षेत्रमा राससले पुर्याएको योगदानबारे चर्चा गर्नुभएको थियो। कार्यक्रममा सिरहा जिल्लाका अधिकांश संचारकर्मिहरुको उपस्तिथी रहेको थियो।