8 Views
फिरोज शेख लहान २०८१ फागुन २ गते शुक्रबार -
विवाहको उमेर २० वर्ष नै कायम राख्न बक्ताहरुको जोड दिएका छन्। "वालविवाह र लैंगिक हिँसा रोकथाम" सम्बन्धी नगर स्तरीय सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी बक्ताहरुले विवाहको उमेर २० वर्ष नै कायम राख्न जोड दिएका हुन्।मुक्ति नेपाल गोलबजारको आयोजनामा आयोजित नगर स्तरीय सरोकारवालाहरूसँग वालविवाह र लैंगिक हिँसा रोकथाममा समस्या र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी प्रमुख अतिथि गोलबजार नगरपालिका नगर प्रमुख श्याम श्रेष्ठ र विशिष्ट अतिथि गोलबजार नगरपालिका उपप्रमुख मान्ती साह,वडा ६ का अध्यक्ष संजित लामा, वडा ३ का अध्यक्ष धन प्रसाद लामा, विभिन्न दलका नगर सभापति तथा प्रतिनिधिहरु, संचारकर्मी, बाल संगठनका किशोर किशोरीहरु र अभिभावकहरूले विवाहको कानुनी उमेर २० वर्ष नै कायम राख्न माग गरेका छन्।
प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गत उपसमितिको माघ २ गते बसेको बैठकले विवाहको उमेर २० वर्षबाट घटाएर १८ वर्ष बनाउने प्रस्ताव माथि गम्भीर ध्यान आकर्षण भएको बताउदै किशोर–किशोरीको मानसिक, मनोसामाजिक, यौन तथा प्रजनन् स्वास्थ्य, शारीरिक विकास र सामाजिक संरचनाको सन्तुलित विकासका लागि विवाहको उपयुक्त उमेर २० वर्ष नै हुनु पर्ने कुरामा समर्थन जनाउदै बक्ताहरुले ‘बालविवाह न्यूनीकरणका लागि सरकार स्वयम् र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरुले गरेका योगदानका कारण किशोर–किशोरीहरुले कम्तिमा १२ कक्षा पास गरी स्नातक तहमा भर्ना हुन सकेका छन् । १८ वर्षमै विवाह गर्न पाउने व्यवस्था गरिएमा बालबालिकाले कम्तिमा १२ कक्षासम्म पनि पास गर्न नसक्ने हुँदा उच्च शिक्षासम्म पढ्न पाउने सम्भावना नै नहुने दाबी गरिएको छ।
‘यसले देशमा झन बेरोजगारी वृद्धि हुने समस्या एकातिर अर्कोतिर शारीरिक र मानसिकरुपमा पनि परिपक्व नहुने, परिपक्व नहुँदै विवाह हुँदा परिवारिक जिम्मेवारी तथा कामको बोझ बढ्ने, पढाई छुट्ने, सानो उमेरमै गर्भाधारण हुने र अपरिपक्क उमेरमा आमा बन्ने सम्भावना बढी हुने हुँदा गर्भवती अवस्थामा धेरै जटिलताहरू आउने, बाल र मातृ मृत्युदर बढ्न सक्ने, सुत्केरीपछिको डिप्रेसन बढ्ने, पाठेघर खस्न सक्ने र गरिबी झन बढ्न सक्ने समस्या आउने भएकोले विवाहका लागि उमेरहद २० वर्ष नै हुनु पर्ने जोडदार मांग गर्दै वालविवाह न्यूनीकरण गर्न स्थानीय सरकार र सरोकारवाला तथा अभिभावकहरुले किशोर किशोरीहरुलाई विभिन्न क्रियाकलापमा सहभागी गराउदै मोबाइल तथा सामाजिक संजालहरुका कारण बढ्दै गइरहेको विकृतिहरु बाट टाढा राख्न सके कम उमेरमै हुने भागि विवाह तथा हानिकारक परम्परागत अभ्यासहरू न्यूनीकरण गर्न सकिने बताएका छन्।
बालविवाहको समस्या तुलनात्मक रुपमा नेपालको तराई मधेस क्षेत्रमा बढी रहेको छ। शिक्षित समुदायमाभन्दा चेतना स्तर कम भएका, आर्थिक सामाजिक रुपमा पछि परेका मधेसी, मुसहर, चमार, डोम, थारू, दलित, मुस्लिम,यादव जस्ता समुदायमा बढी पाइन्छ। नेपाल विश्वमा बालविवाह बढी हुने देशमध्ये दसौं स्थानमा पर्दछ। त्यसैले बालविवाह न्यूनीकरण गर्न किशोर किशोरीहरुलाई पनि जागरुक हुनै पर्छ। उधोग व्यापार संघ गोलबजारको सभा हलमा मुक्ति नेपाल गोलबजारका अध्यक्ष देव कुमारी महराको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा मुक्ति नेपालमा कार्यरत संजु कुमारी दास र विशेश्वर दासले सहजीकरण गरेका थिए।