फिरोज शेख लहान २०८१ माघ १३ -
खुटी नहर संरक्षणका लागि लहान नगरपालिकाविरुद्ध आन्दोलन गर्दै आएको खुटी खोला सिंचाइ संघर्ष समितिले शनिबार सिरहाको लहानमा जनप्रदर्शन सहित खुटी नहर कब्जा गरेका छन्। लहान स्थित खुटी नहरको अस्तित्व मासेर नगरपालिकाले ढल बनाउन थालेपछि किसानहरुले नगरप्रमुख महेश प्रसाद चौधरी बिरुद्ध चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका छन् । दोस्रो चरणको आन्दोलन अन्तर्गत किसानहरुले शनिबार जनप्रदर्शन गर्दै खुटी नहरमा झण्डा गाडेका हुन्।लहान नगरपालिकाका नगरप्रमुख चौधरी र सिंचाइ डिभिजन कार्यालय लहान प्रमुख हसमुख अन्सारी विरुद्ध पुतलासहित प्रदर्शन गरेका किसानहरुले खुटी नहरमा किसान संघर्ष समितिको झन्डा गाडेका छन्। झन्डा गाड्दै नहर आफूहरुले कब्जा गरेको किसानहरुले घोषणा गरेका छन्।संघर्ष समितिको पूर्वघोषित कार्यक्रम अन्तर्गत शनिबार लहानमा जनप्रदर्शन तथा एक घण्टा चक्काजाम गर्ने कार्यक्रम भए पनि सरोकारवाला हरुको आग्रह अनुरुप आन्दोलनलाई शान्तिपूर्ण बनाउन जनप्रदर्शन तथा कोणसभा कार्यक्रम मात्र गरिएको थियो। कोण सभालाई संघर्ष समितिका अध्यक्ष धर्मराज चौधरी, आन्दोलनका अगुवा हेमन्त यादव ,अजय चौधरी लगायतका वक्ताहरुले सम्बोधन गर्दै खेतमा पानी जाने नहरलाई नगरप्रमुख चौधरीले कमिसनको लोभमा ढल बनाउन लागेको आरोप लगाउदै हाम्रो मागलाई अब पनि बेवास्ता गरेको खण्डमा नाङ्गो पार्ने चेतावनी समेत दिएका छन्। आन्दोलनका क्रममा लहानमा व्यापक प्रहरी परिचालन गरिएको थियो।
किसानहरुले दोस्रो चरणको आन्दोलन अन्तर्गत गत आइतबार साँझ मसाल जुलुस ,सोमबार शान्तिपूर्ण प्रदर्शन, मंगबार इलाका प्रशासन कार्यालय लहान र जिल्ला उद्योग वाणिज्य संघमा ध्यानाकर्षण पत्र बुझाएका थिए भने बुधबार नगरपालिका अगाडी शान्तिपूर्ण धर्ना, शुक्रबार नगर प्रमुख महेश प्रसाद चौधरी र सिँचाइका डी हसमुख अन्सारीको पुत्ला दहन र शनिबार जनप्रदर्शन गरेका हुन्।