सियाराम यादव कतार २१ पुष -
कतारमा स्थापित रविदास समाज सेवाले आफ्नो पहिलो ऐतिहासिक अधिवेशन सनैयास्थित फूलबारी रेस्टुरेन्टको सभा हलमा दुई चरणमा सम्पन्न गरेको छ। विविध सांस्कृतिक कार्यक्रम र नयाँ वर्षको शुभकामना आदानप्रदानले भरिपूर्ण अधिवेशनमा वर्तमान अध्यक्ष लालबाबु रामलाई सर्वसम्मत रूपमा दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरिएको छ। बन्द सत्रबाट चयन गरिएको नयाँ कार्यसमितिको अध्यक्षमा लालबाबु राम ,उपाध्यक्षमा विनय महरा ,महासचिवमा प्रमोद कुमार महरा,सचिवमा रमानान्द राम,सहसचिवमा दुखी राम,कोषाध्यक्षमा लक्ष्मी राम र सहकोषाध्यक्षमा सोमन महरा चयन भएका छन्। त्यस्तै कार्यकारी सदस्यहरूमा महेश कुमार महरा, शत्रुधन महरा, पवित्र महरा, श्रीचन महरा, र रामएकवाल महरा रहेका छन्। संरक्षकमा रामएकवाल राम, प्रमुख सल्लाहकारमा दीपेन्द्र कुमार महरा र सल्लाहकारहरूमा किर्ते महरा, चन्द्रदिप महरा, र रामउदगार राम रहेका छन्।
अधिवेशनको खुला सत्रमा कलाकारहरूको आकर्षक सांगीतिक प्रस्तुति विशेष आकर्षण बनेको थियो। राम जनम मण्डल, जितेन्द्र पासवान र सन्तोष विश्वकर्माले स्वागत गीत प्रस्तुत गरे भने मनीष कुमार गोस्वामी, ऋतु श्रेष्ठ, लक्ष्मी कार्की, लक्ष्मी गिरी र पन्जाबी गायक महेन्द्रले कार्यक्रमलाई सांगीतिक रंग प्रदान गरे। हास्य कलाकार अनिल विश्वकर्माको प्रस्तुति विशेष चर्चा बटुल्न सफल भयो।
अधिवेशनमा विभिन्न वक्ताहरूले रविदासको जीवन र शिक्षाले दलित समुदायमा ल्याएको परिवर्तनलाई प्रशंसा गर्दै जातीय विभेदको अन्त्यका लागि प्रेरणादायी सन्देश दिए। समाजको स्थापनाले तराईका दलित भनिने समुदायलाई कतारमा पनि सशक्त बनाउने विश्वास व्यक्त गरियो।गैरआवासीय नेपाली संघ (एनआरएनए एनसीसी) कतारका अध्यक्ष रमेश भट्टले कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै समाजको प्रयासलाई प्रशंसा गरे। उनले नयाँ नेतृत्वलाई शुभकामना दिँदै एनआरएनए र समाजबीच सहकार्य गर्न तयार रहेको बताए।कतारमा सक्रिय वैचारिक, सामाजिक, र साहित्यिक संघ-संस्थाका प्रतिनिधिहरू, अग्रज व्यक्तित्व र बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमको समापन सभाध्यक्ष लालबाबु रामले गरेका थिए।