6 Views
फिरोज शेख लहान २०७७ चैत १२ -
सिरहाको लहानमा आयोजित " प्रथम भेट्रान फुटवल प्रतियोगिता " अन्तर्गत सम्पन्न पहिलो सिमिफ़ाइनल खेलमा विराटनगर युनाइटेड भेट्रान FC मोरङ विजय हुँदै फाइनलमा प्रवेश गरेका छन्। लहान भेट्रान फुटवल टिमको आयोजना र हिम कस्तुरी युवा क्लव लहान तथा कस्तुरी युवा क्लव लहानको सहयोगमा जारि प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न विराटनगर युनाइटेड भेट्रान FC मोरङ र आयोजक लहान भेट्रान फुटवल टिम बीचको खेलमा विराटनगरले आयोजक लाई ०१ का विरुद्ध ०२ गोल गर्दै शनिबार हुने फाइनल खेलमा स्थान पक्का गरेका छन्। पहिलो सेमिफाइनल खेलमा दुबै गोल गर्ने विराटनगरका सुरज कुमार श्रेष्ठलाई फुटवल प्रेमी बाबुलाल माँझीले नगद रु .२ हजार १०० नगद पुरस्कारले सम्मानित गरेका थिए। भने खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गर्न सफल सुरज श्रेष्ठ नै म्यान अफ द म्याच घोषित भएका थिए।
" एक घण्टा व्ययाम ,नागरिकहरुका लागि नौलो आयाम मूल नाराका साथ ४० वर्ष नाघी सकेका खेलाडीहरुको मात्र सहभागिता रहेको प्रतियोगिता अन्तर्गत भएको पहिलो सेमी फाइनलको हाफ टाइम सम्म दुवै तिम्ले गोलरहित खेल खेले पनि दोस्रो हाफको २० औ मिनेटमा श्रेष्ठले पहिलो गोल गर्दै विराट नगरलाई अग्रता दिलाए पनि त्यस पश्चात १० मिनेट भित्रै लहानका हेमन्त चौधरीले विराटनगर लाई एक गोल फर्काउदै खेल रोमान्चक बनाएका थिए। खेल सम्पन्न हुन् ५ मिनेट मात्र बाँकी रहेको बेला पुनः श्रेष्ठले लहानलाई अर्को गोल गर्दै विराटनगरको फाइनल यात्रा पक्का गराएका हुन्। दर्शकको निकै साथ पाएका लहान टिमले दोस्रो हाफमा गोल गर्ने थुप्रै अवसर पाए पनि खेलाडीहरुको तालमेल नमिल्दा गोलमा परिणत गर्न सकेनन र दर्शक निराश हुँदै घर फर्किएका थिए।
प्रतियोगिता अन्तर्गत फाइनल जित्ने फुटवल टीमलाई नगद रु .५० हजार सहित शिल्ड ,मेडल र प्रमाण -पत्र प्रदान गरिने छ ,भने उप-विजेता टिम लाई नगद रु .२५ हजार सहित शिल्ड ,मेडल र प्रमाण -पत्र प्रदान गरिने छ। प्रतियोगिता अन्तर्गत दोस्रो सेमीफाइनल विहिबार दिउँसो ४ बजे दमक भेट्रान फुटवल टिम झापा र CMG भेट्रान फुटवल टिम विराटनगर बीच हुने आयोजकले जनाएको छ। प्रतियोगिताको अन्तिम तथा फाइनल खेलमा शनिबार विराटनगर युनाइटेड भेट्रान FC मोरङका विरुद्ध दोस्रो सेमिफाइनलका विजेता खेल्ने छन्। यसै बीच शुक्रबार लहान नगरपालिकाका जनप्रतिनिधिहरुले पनि मैत्रीपूर्ण फुटवल खेल्ने घोषणा गरेका छन्। लहान -७ का वडा अध्यक्ष राकेश रोशनका अनुसार नगर प्रमुख मुनि साहको एउटा टिम र उपप्रमुख सरियार कुमारी चौधरीको एउटा टिम निर्माण गरि मैत्रीपूर्ण खेलको आयोजना गरिएको जानकारी दिए।