13 Views
फिरोज शेख लहान २०७९ कार्तिक २१ -
जिल्ला उधोग वाणिज्य संघ सिराहाको आन्दोलनका कारण सोमबार जिल्ला भरिकै बैंकहरु एक घण्टा ठप भएका छन्। जिल्ला उधोग वाणिज्य संघ सिराहा लहान र त्यसमा आबद्ध विभिन्न नगर व्यापार संघहरुको संयुक्त आयोजनामा आन्दोलित व्यवसायीहरुले सोमबार सिरहा जिल्ला भित्रका सम्पूर्ण बैंकहरुमा विहान १० बजे देखि ११ बजे सम्म बैंकहरुको चर्को व्याज विरुद्ध प्ले कार्ड सहित मूल गेटमै धर्नामा बस्दा एन आइ सी एसिया,नबिल,मुक्तिनाथ विकास ,ज्योति विकाश,ग्लोवल आइएमई ,सिद्धार्थ,एन एम बि , नेपाल बैंक ,वाणिज्य बैंक,सिटिजन्स बैंक,नेपाल इन्भेष्ट मेन्ट ,लक्ष्मी बैंक ,सनराइज बैंक,प्राइम बैंक,कुमारी बैंक,मेगा बैंक, एस बि आई बैंक,माछापुच्छ्रे लगायतका बैंकहरुको काम काज एक घण्टा प्रभावित भएको हो।
संघको निर्धारित विरोध कार्यक्रम अन्तर्गत सोमबार सिरहा जिल्लाको सम्पूर्ण बैंकहरुमा विहान १० बजे देखि ११ बजे सम्म सफला पुर्वक शान्तिपूर्ण धर्ना कार्यक्रम सम्पन्न भएको आन्दोलनको नेतृत्व गरिरहेका जिल्ला उधोग वाणिज्य संघ सिराहा लहानका अध्यक्ष विकाश सारडाले जानकारी दिए।अध्यक्ष सारडाका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाहमा गरेको ढिला सुस्ती ,असुलीमा तागेता तथा चर्को ब्याज दरका साथै लिलामी प्रक्रिया अगाडी बढाएको कारणले उधोगधान्धा,कलकारखाना तथा अन्य व्यवसाय धमाधम बन्द भइरहेको हुँदा नेपाल सरकार,नेपाल राष्ट्र बैंकलाई त्यस प्रकारको नीतिहरुलाई अविलम्ब सच्याई उधोग व्यवसायी मैत्री नीति निर्माण गर्न जोरदार माग गर्दै आन्दोलित भएको जानकारी गराए।
अध्यक्ष सारडाले बैंकहरुले कर्जामा एक अंकको व्याजदर कायम गर्नु पर्ने ,बैंकहरुले व्याज वाहेक कुनै किसिमको सेवा शुल्क तथा नवीकरण शुल्क लिन नपाउने ,बैंकहरुले सम्झौता भन्दा बढी लिएको सेवा शुल्क फिर्ता गर्नु पर्ने ,बैंकहरुले लिलामी प्रक्रिया अगाडी बढाएको तत्कालै स्थगित गर्नु पर्ने ,कर्जाको नवीकरण म्याद तिन बर्ष गर्नु पर्ने ,नेपाल राष्ट्र बैंकबाट मिति २०७९ कार्तिक १ गते देखि लगाएको चालुपुँजी कर्जा सम्बन्धि मार्ग दर्शन २०७९ खारेज गर्नु पर्ने ,बैंकहरुले व्याज दर परिवर्तनको सुचना सर्वसाधारण तथा व्यवसायीहरुको मोबाईलमा एस एम एस को माध्यमबाट जानकारी गराउनु पर्ने मागहरु अगाडी सारेको बताए। धर्नाको कार्यक्रम मिरचैया ,सुखिपुर, सिरहा,धनगढीमाई नगरपालिकामा रहेका बैंकहरुमा पनि गरिएको थियो। अध्यक्ष सारडाले कार्तिक २३ गते सम्म मागहरु सम्बोधन नभए बैठक बसी थप कडा आन्दोलनका कार्यक्रमहरु निर्धारण गर्ने जनाएका छन्।