शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
अपडेट : कुटपिटमा परेपछि मण्डलले विषादी सेवन गरेको प्रहरीको आशंका
चैत्र १९, २०७९ | सरगम खबर समाचारदाता

सिरहा लहान २०७९ चैत १९ - 
सिरहाको लहान नगरपालिका– ८ का एक युवकले कुटपिटमा परेपछि विषादी सेवन गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न रहेको आरोपमा दुईजनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । घटनाको अनुसन्धानका लागि राजलाल साह र उनका नाति भीम साहलाई आइतबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । लहान– ८ घर भई स्थानीय प्रिया जनरल स्टोरमा कार्यरत २१ वर्षीय हरिभजन मण्डलको शनिबार राति घर फर्किने क्रममा स्थानीय राजलाल साहले अण्डा बेच्ने ठेलाले पछाडिबाट धक्का दिएपछि सामान्य विवाद भएको थियो । विवादपछि घर पुगेका मण्डललाई पछ्याउँदै गएका साहले आफु र आफ्ना छोरा शिव, भोला र नाति भिमलाई बोलाएर कुटपिट गरेका प्रत्यक्षदर्शी छिमेकीहरुले बताए । कुटपिटपछि गम्भिर घाइते भएका मण्डललाई छिमेकीहरुको सहयोगमा बाबु रामकुमार मण्डलले उपचारका लागि स्थानीय कामना नर्सिङ होम पुर्याएका थिए । त्यहाँ पुर्याएलगत्तै दुई–तीन पटक बान्ता गरेका मण्डलको अवस्था गम्भिर बन्दै गएपछि तत्काल रेफर गरी विराटनगरस्थित विराट नर्सिङ् होम पुर्याए पनि उपचार शुरु हुनु अगावै मृत्यु भएको परिवारले जनाएको छ ।


इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक कृष्ण खत्रीका अनुसार आफूलाई घरमै आएर कुटपिट गर्दा पनि परिवारले प्रतिरक्षा नगरेको आवेशमा विषादी सेवा गरेको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, पोष्टमार्टम रिपोर्ट आएपछि मात्र कुटपिट वा विषादी सेवन के कारणले मृत्यु भएको हो भन्ने खुल्ने प्रहरी निरीक्षक खत्रीले बताए । उनका अनुसार मृतकका काका मुन्ना मण्डलले लहान प्रहरीमा विषादी सेवनबाट भतिजाको मृत्यु भएको भन्दै जाहेरी दिएकाले प्रहरीले सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको छ । उपचारका लागि विराटनगर पुर्याइएका मण्डलको साथबाट स्थानीय प्रहरीले सेल्फस नामको विषादीको बट्टा बरामद भएको जनाइएको छ।
 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.