11 Views
फिरोज शेख लहान २०७८ असार १ -
कोभिड १९ सङ्क्रमणको जोखिम अझै कायम रहेको भन्दै सिरहामा आजबाट थप १५ दिनको लागि निशेधाज्ञा जारी गरिएको छ । जोखिम न्यूनिकरण गर्न बसेको डीसीसीएमसी सिरहाको बैठकले गरेको निर्णय अनुसार जेष्ठ ३१ गते राती १२ बजेदेखि लागू हुने गरी आगामी असार १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेकोे हो ।निषेधाज्ञा अवधिभर निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, ब्युटीपार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टर लगायतकाहरू बन्द रहने जनाइएको छ । स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधनभने सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए । खाद्यान्न, फलफूल, तरकारी, दूधडेरी, ग्यास पसल बिहान ५ बजे देखि १ बजेसम्म मात्रै खोल्न पाइने जनाइएको छ । त्यस्तै निर्माण सामाग्री भण्डारण गर्ने बाहेक विहान ९ बजेदेखि १ बजेसम्म व्यवसाय गर्न पाइने बताइएको छ । होटल व्यवसायले अनलाईन वा फोनबाट बुकिङ्ग गरी होम डेलिभरी गर्ने गरि विहान ९ बजे देखि दिउँसो १ बजे र बेलुकी ६ बजे देखि ८ बजेसम्म सञ्चालन गर्न पाइने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । कोभिड - १९ को दोस्रो लहर सुरु भएदेखि हाल सम्म सिरहमा एक हजार ४ सय ४० संक्रमित भएका छन्।
जसमध्ये ९ सय ३४ जना निकोभईसकेको छ भने ९५ जनाको मृत्यु भईसकेको छ । संक्रमितको संख्यामा निरन्तर कमी आए पनि अझै सङ्क्रमणको जोखिम कायम रहेको हुँदा पुनः १५ दिनका लागि आर्थिक कारोबार चलायमान हुने गरि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लाभर निषेधाज्ञा जारि गरिएको प्रमुख जिल्ला अधिकारी कणेलले बताए । नियम उल्लङ्गघन गर्नेलाई स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम कार्यावाही गरिने उनले बताए ।