8 Views
फिरोज शेख लहान २०७९ बैशाख २० -
कोभिड महामारीका कारण प्रभावित बनेको ईद पर्व आज दुई वर्षपछि मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाउँदैछन् । समूहमा मनाइने पर्व विगत दुई वर्षदेखि कोभिड महामारीका कारण घरमै सिमित राख्दै हर्षोल्लासका साथ मनाउन सकिएको थिएन ।यो वर्ष कोभिड सामान्य भएसँगै आज एक आपसमा खुसी साटासाट गरी ईद (इदुलफित्र) लहान सहित देश तथा विदेशमा मनाइँदैछ । ईद मुस्लिम समुदायको पवित्र महिना तथा कुरआन अवतरण भएको महिना रमजान (रोजा) सकिएपछि मनाइने पर्व हो । आत्मसंयम र शुद्धिका लागि एक महिनासम्म मनाइने रमजान पर्वको रोजा (व्रत) सकिएको भोलिपल्ट अर्थात् आज यो पर्व मनाउने गरिन्छ । ३० दिन रोजा बसेर हिजो सोमबारको सूर्यास्तपछि सव्वाल महिनाको चन्द्रमा देखिएपछि आज पर्व मनाइँदै छ । सरकारले आज सार्वजनिक बिदा दिएको छ । लहान क्षेत्रका मुस्लिम स्थानीय इदगाहमा बिहान साढे ६ बजे जम्मा भएर सामूहिक नमाज पढी इद मनाउँदै छन् । ईदको दिन बिहानै नुहाइधुवाइ गरी सुकिला, सफा कपडाका साथमा वासनादार अत्तर लगाई इदगाह (नमाज पढ्न बनाइएको विशेष खुला ठाउँ) वा मस्जिदमा जम्मा भई समूहमा नमाज पढिन्छ । सोपश्चात एकआपसमा गला मिलाएर इद मुबारक भन्दै एकआपसमा शुभकामना साटासाट गर्ने नमाजपछि ईदको विशेष परिकार सेवईका साथै अन्य मिठाइका परिकार र खानेकुरा खाएर शुभकामनासहित पाहुनालाई स्वागत गर्छन् ।
विपन्न, अशक्त, टुहुरा, असहाय आदिलाई दान दिएर खुसी पार्नुपर्ने यो चाडको प्रमुख विशेषता हो । रमजानको महिनामा गरिने उपासनाबाट अन्य महिनाभन्दा ७० गुणा बढी लाभ मिल्ने धार्मिक विश्वास छ । इदको नमाज पढ्नु अघि रमजानमै प्रत्येक मुसलमानले जनही १ किलो ७५० ग्राम गहुँ वा सो बराबरको मूल्य फित्तरा निकाल्नुपर्छ भने वर्षभरिको आम्दानी र सम्पत्तिबाट अढाइ प्रतिशत जकात (कर) निकाल्नुपर्छ, यस्तो फित्तरा र जकात गरिब, असहाय, दिनदुःखी मस्जिद वा मदरसामा अनिवार्य दिनुपर्ने मान्यता छ । फित्तरा र जकात इदुलफित्र अर्थात् इदको नमाज पढ्नुभन्दा अगावै निकाली सक्नुपर्छ ।