फिरोज शेख लहान २०८१ पुष २५ -
नागरिकहरूलाई शित लहरको प्रभावबाट बचाउन लहान नगरपालिकाले दाउरा बाल्ने अभियान सुरु गरेको छ ।अत्याधिक चिसो बढेसँगै बुधवार लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले लहानको चोकचोकमा दाउरा वितरण गर्दै दाउरा बाल्ने अभियान सुरु गरेका हुन्। नगरप्रमुख चौधरीले लहान १० स्थित ग्रामिण चौक बाट यस अभियानको शुरुवात गरेको जनाएका छन्। उनले यसबाट विपन्न नागरिकलाई राहत मिल्ने विश्वास लिएको बताए । दाउरा बाँड्ने कार्यक्रम शितलहर अवधिभर जारि रहेको जानकारी दिए । केही दिन यता तराईका विभिन्न जिल्लामा अत्याधिक चिसो बढेको छ । लहान लगायतका स्थानमा शित लहरले आम नागरिकको जनजीवन प्रभावित बनाएको छ। यसै बीच चिसो बढेपछि लायन्स क्लब अफ लहान सनसाईनले लहान नगरपालिका-१२ मा ५० जनालाई कम्बल वितरण गरेका छन् ।