9 Views
सिरहा लहान २०७८ भदौ १० -
सिरहा जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद र जरिवाना तोकिएपछि फरार भएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको धनगढीमाई नगरपालिका–११ नैनपुरका २९ वर्षीय सञ्जीत महतो, सखुवानान्कारकट्टी गाउँपालिका–१ का २९ वर्षीय शोभाकान्त चौधरी र लक्ष्मीपुर पतारी गाउँपालिका–६ का ५० वर्षीय हासिम नटलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई कीर्ते नागरिकता, लागूऔषध र चोरी मुद्दामा जिल्ला अदालतबाट कैद र जरिवाना तोकिएको थियो । उनीहरुमध्ये नट अदालतबाट दोषी ठहर भएको ३४ वर्षपछि पक्राउ परेका हुन् ।महतोलाई कीर्ते नागरिकता मुद्दामा २०७१ साल मंसिर २९ गते सिरहा जिल्ला अदालतले ५ हजार नगद जरिवाना सजाय तोकेको थियो भने चौधरीलाई २०७१ साल जेठ ३ गते अदालते लागूऔषध मुद्दामा एक लाख जरिवाना र २ वर्ष कैदको सजाय तोकेको थियो ।
यस्तै, हासिम नट चोरी मुद्दामा अदालतबाट १ महिना कैद र १६ हजार जरिवाना तोकिएपछि फरार रहेका थिए । उनलाई जिल्ला अदालतले २०४४ साल मंसिर २७ गते कैद र जरिवाना तोकेको थियो ।तीनैजनालाई उनीहरुको घरबाटै पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले बताए ।