शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
हज कमिटीले तोकेको चर्को शुल्कप्रति आपत्ति जनाउँदै ज्ञापन पत्र
जेठ २०, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ जेठ २० - 
साउदी अरेवियाको मक्का मदिना हज गर्न जाने नेपाली हजयात्रीका लागि सरकारले निर्धारण गरेको शुल्क अव्यावहारिक भएको भन्दै सिरहाका मुस्लिम समुदायले ज्ञापन पत्र बुझाएका छन् ।इस्लाम धर्मावलम्बीको पवित्र धार्मिक स्थल मक्कामदिनामा हज गर्न जाने नेपालीका लागि नेपाल हज कमिटीले तोकेको चर्को शुल्कप्रति आपत्ति जनाउँदै नेपाल मुस्लिम इत्तेहाद संगठन सिरहाले यो निर्णय तत्काल सच्याउन सरकारसँग माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । नेपाल मुस्लिम इत्तेहाद संगठन सिरहाले जिल्ला प्रशासन कार्यालय सिरहा मार्फत गृह मन्त्रालयलाई पठाइएको ज्ञापन पत्रमा तोकिएको चर्को शुल्कसम्बन्धी निणर्यको घोर निन्दा एवं भर्तसना गर्दै विगतको भन्दा दोब्बर शुल्क बढाएर सरकारले हजयात्रीको मर्ममाथि ठेस पुर्‍याएको जनाएको छ ।विगतमा दुई लाख २५ हजारमा गर्दै आएको हजयात्रालाई बढाएर हाल त्यसको दोब्बर चार लाख ६३ हजार तोक्नु आफैँमा अवैज्ञानिक र बेइमानीपूणर् रहेको छ । यसले हजयात्रीको भावनामाथि ठेस पुर्‍याएको छ । धार्मिक आस्थामाथि आँच पुर्‍याउने काम सरकारले गरेको ज्ञापन-पत्रमा उल्लेख छ ।

कोभिड- १९ का कारण गत दुई वर्ष हजयात्रा हुन सकेको छैन । यसपटक पनि कोभिड-१९ को जोखिम कम गर्न हजयात्रीको संख्या घटाइएको छ । मक्कामदिनाका थुप्रै आवासका लागि घरहरू खाली रहने भएकाले हाल तोकिएको घरभाडा शीर्षक रकम धेरै हो । मोअल्लिम दस्तुर विगतभन्दा तेब्बर तोकिनु दुर्भाग्य रहेको छ ।कोभिड- १९ सुरु हुनु भन्दा अगाडी नै हजयात्राका लागि केही हजयात्रीहरुले पहिले नै आवेदनसंगै एक लाख २५ हजार रुपैयाँ बुझाइसकेको छ । आवेदनसँगै पहिले नै रकम बुझाएकाहरूको रकम हज कमिटीले तत्काल फिर्ता गर्नु पर्ने माग ज्ञापनपत्रमा उल्लेख गरेका छन् । नेपाली मुस्लिमहरूको हजयात्रालाई सहज र सुलभ बनाउन संगठनले माग गरेको छ। हजयात्राका लागि निर्धारण गरिएको शुल्क तत्काल समायोजन गरी हजयात्रालाई सहज र सरल बनाउन ज्ञापनपत्र मार्फत माग गरिएको छ । माग पूरा नभए सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.