शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
ढोढनामा बिहानैदेखि बलि चढाउनेहरूको घुइँचो
बैशाख २२, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० बैशाख २२ - 
आज वैशाखी पूर्णिमा अर्थात् अहिंसाका प्रतिक भगवानको बुद्ध जन्म जयन्ती । भगवान बुद्धको सम्झानामा आजका दिन धेरै नेपालीमा वली चढाउन नहुने मान्यता छ । तर, आजैको दिन सिरहाको लहान -१५  ढोढना स्थित राजदेवी पञ्चावती मन्दिरमा हजारौं पशुपक्षीको बली चढाइने गरिएको छ । ढोढनामा बिहानैदेखि बलि चढाउनेहरूको घुइँचो लागेको छ। राजदेवी मातालाई भाकल गरे सन्तान प्राप्ति, रोगव्याधी निको हुने, मुद्दामामिला पक्षमा हुने, इच्छाएको काम पुरा हुने जनविश्वास रहेको छ।मनोकामना पुरा भएको भन्दै श्रद्धालुले मन्दिरमा बोका, पाठी, परेवा, कुखुरा, हाँस लगायतका पशुपक्षीको बलि दिइरहेको श्री राजदेवी पंचावती मन्दिर संरक्षण विकास समिति लहान नगरपालिका -१५ ढोढनाले जनाएका छन्।मन्दिरमा बलि चढाउनका लागि सिरहा, सप्तरी, उदयपुर, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही लगायतका जिल्ला तथा भारत बिहारका विभिन्न भागबाट भक्तजनहरुको हिजो देखि नै लर्को लागेको छ।केही वर्ष अघिसम्म स्थानीयले मात्र बली प्रदान गर्दै आएको सो स्थानको शक्तिबारे प्रचार प्रसार हुँदै गएपछि केही वर्षदेखि दर्शनार्थी तथा बली चढाउनेहरूको ठुलो भीड लाग्ने गरेको छ।

आजकै दिन बली किन प्रदान गरिन्छ ? करिब १३० वर्ष अघिको कुरा हो । मन्दिर रहेको ठाउँमा जंगल र चरण क्षेत्र थियो । यहाँ स्थानीयबासी गाई चराउन जान्थे । चराउन लग्ने गाइहरु हराउन थाले । पछि गाउँका मानिसहरु त्रसित भए । धामीको रुपमा रहेका स्वर्गीय दिलाराम भट्टले त्यस ठाउँमा गई तन्त्र साधना गरेपछि राति सपनामा देवीले दर्शन दिई पूर्णिमा अर्थात् बुद्ध जयन्तीको दिन बली चढाए समस्या टर्ने बताएका थिए । स्थानीयले देवीले सपनामा भनेअनुसार आजको दिन बली चढाउन थाले । समस्या टर्यो । त्यस पछि यसको महिमाको प्रचार प्रसार सँगै यहाँ वर्षेनी आजकै दिन लाखौको संख्यामा भक्तजन भेला हुने गरेको छ ।

यसै बीच यस बर्ष बाट श्री राजदेवी पंचावती मेला हर्न र भाकल चढाउन आउनु हुने भक्तजनहरूको सुविधाका लागि राजदेवी मन्दिर द्वारा उत्पादित शुद्ध घ्युको लड्डु मन्दिर परिसर भित्रै उपलब्ध हुने समितिले जनाएका छन्। साथै मेला हर्न र भाकल चढाउन आउनु हुने भक्तजनहरूलाई चोर ,पाकेटमार संग सचेत रहन आग्रह समेत गरेका छन्। शान्ति सुरक्षाका लागि नेपाल प्रहरी ,शस्त्र प्रहरी ,ट्राफिक प्रहरी , नगर प्रहरी सहित करिब ४०० स्वयंसेवक परिचालन गरिएको छ। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.