शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
विद्यालयमा बिरुवा रोपेर मनाए जनप्रतिनिधिले आफ्नो जन्मदिन
बैशाख ३, २०७८ | फिरोज शेख

सिरहा २०७८ बैशाख ३ - 
सरकारी स्रोत उपयोग गरी आफ्नो पारिवारिक काम गर्ने जनप्रतिनिधिहरुको संख्या बढ्दै गएको गुनासो बढिरहेका बेला सिराहाको गोलबजार नगरपालिकाका जनप्रतिनिधिले आफ्नो जन्मदिनमा न कुनै केक काटे, न त कसैलाई भोजभतेर नै खुवाए । गोलबजार नगरपालिका १० का वडाध्यक्षले आफ्नो गाउँमा होइन, लहानको विद्यालयमा फलफूलका बिरुवा रोपेर आफ्नो ७० औं जन्म दिन मनाएका छन् । गोलबजार १० का वडाध्यक्ष देवनारायण महतोले बिहीबार बिहान लहान नगरपालिका ८ स्थित स्कूल अफ स्कलर्स परिसरमा ७० प्रजातिका फलफूलका बिरुवा रोपेर आफ्नो ७० औं जन्मदिन मनाएका हुन् । ‘जन्म दिनको अवसरमा भोजभतेर पनि गर्न सक्थें तर भविष्यका कर्णधार बालबालिका पढ्ने विद्यालयमा फलफूलका बिरुवा रोपेको छु, यसले थोरै भएपनि वातावरण प्रदूषणलाई सफा गर्नेछ ।‘जनप्रतिनिधिले सरकारी बजेट परिचालन गरेर विकास निर्माणका काम मात्र गर्ने होइन’ उनले भने ‘आफ्नै खर्चमा समाजका लागि पनि नमूना काम गर्नुपर्छ भन्ने लागेर छोराको सहयोग र समन्वयमा विद्यालयमा फलफूलका बिरुवा रोपेको हुँ ।’

वडाध्यक्षका छोरा रामप्रकाश सिंहले आफ्नो बुवाले फरक ढंगले जन्मदिन मनाउन बृक्षारोपण गर्ने इच्छा रहेको बताएपछि आफू बसेको लहान ३ स्थित विद्यालयमा ७० प्रजातिका फलफूलका बिरुवा रोप्न सहयोग र समन्वय गरेको उल्लेख गरे ।विद्यालयका निर्देशक सुदिपराज कुशवाहाले जलवायु परिवर्तनले विश्वव्यापी रुपमा तापक्रम बढिरहेका बेला गोलबजार छोडेर आफूहरुको विद्यालय परिसरमा फलफूलका बिरुवा रोपेका वडाध्यक्ष महतोलाई धन्यवाद दिए । सशस्त्र प्रहरी बल नेपालको लहानस्थित सुरक्षा बेस क्याम्पका सशस्त्र प्रहरी नायव उपरीक्षक विनोद थापाले पनि फलफूलका बिरुवा रोप्दै वडाध्यक्षलाई बधाई ज्ञापन गरे । 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.