माघ ०१, २०८२ , Lahan
238 Views
फिरोज शेख लहान २०८२ माघ १ -
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) ले कार्यान्वयन गरिरहेको पेन–प्लस परियोजनाअन्तर्गत सिरहा जिल्लाका १७० जना स्वास्थ्यकर्मीलाई तीनदिने अभिमुखीकरण प्रदान गरिएको छ। पेन–प्लस परियोजनाको आयोजनामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल, स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाइमा कार्यरत स्वास्थ्यकर्मीहरू सहभागी थिए। कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरूले नसर्ने रोगका लक्षण देखिएका बिरामीलाई समयमै पहिचान गरी पेन–प्लस क्लिनिक तथा राम कुमार सारडा उमा प्रसाद मुरारका स्मारक प्रादेशिक अस्पताल लहानमा पठाउने प्रतिबद्धता जनाएका छन्।
किओचकी कार्यक्रम अधिकृत श्रद्धा पराजुलीका अनुसार हरेक वर्ष नसर्ने रोगहरूको प्रकोप बढ्दो क्रममा रहेकाले यसको न्यूनीकरणका लागि स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गरिँदै आएको हो। उनले यस अभिमुखीकरणसँगै सिरहा जिल्लामा हालसम्म ७५० जना स्वास्थ्यकर्मीलाई पेन–प्लससम्बन्धी तालिम दिइसकिएको र पेन–प्लस क्लिनिकमा उपचारका लागि आउने बिरामीको संख्या पनि बढ्दो रहेको जानकारी दिनुभयो। युनिसेफको आर्थिक सहयोगमा सञ्चालन भइरहेको यो परियोजनाले गरिब तथा विपन्न वर्ग, दलित समुदाय र एकल महिलाहरूलाई यस्ता नसर्ने रोग देखिएमा परियोजनामार्फत नै उपचार सेवा प्रदान गर्दै आएको छ। युनिसेफको सहयोग भएकाले बालबालिका तथा किशोर–किशोरीलाई विशेष प्राथमिकतामा राखिएको कार्यक्रम अधिकृत पराजुलीले बताउनुभयो।
पेन–प्लस क्लिनिकमा मुटुरोग (मुटुको बाथ रोग, जन्मजात मुटुरोग, हृदयघात तथा तोकिएको उच्च रक्तचाप), मधुमेह (Type–I तथा इन्सुलिनमा निर्भर Type–II), दम र COPD जस्ता श्वासप्रश्वासका रोग, सिकल सेल तथा थालासेमिया, छारे रोग (एपिलेप्सी), अटिजमलगायतका गम्भीर नसर्ने रोगहरूको उपचार सेवा उपलब्ध छ। क्लिनिकमार्फत तोकिएका गम्भीर नसर्ने रोगका बिरामीलाई ओपिडी सेवा, Type–I मधुमेहका बिरामीलाई निःशुल्क ग्लुकोमिटर सेट, इन्सुलिन पेन तथा निश्चित अवधिसम्म निःशुल्क इन्सुलिन, थालासेमियाका बिरामीलाई निःशुल्क बेड चार्ज, औषधि र रेडक्रस मार्फत निःशुल्क रगतको व्यवस्था गरिएको छ। साथै परामर्श सेवा, निःशुल्क इको तथा ईसीजी सेवा, रोगको जटिलताअनुसार एम्बुलेन्स तथा माथिल्लो तहको स्वास्थ्य संस्थामा प्रेषण सेवा पनि उपलब्ध गराइँदै आएको छ।
युनिसेफको तथ्यांकअनुसार विश्वभर हरेक वर्ष करिब ४३ मिलियन मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ, जुन विश्वव्यापी मृत्युको ७५ प्रतिशत हो। तीमध्ये करिब १८ मिलियन मानिस ७० वर्ष नपुग्दै ज्यान गुमाउने गरेका छन्। नेपालमा पनि नसर्ने रोगको प्रकोप बढ्दो रहेको तथ्यांकले देखाएको छ। नसर्ने रोगका कारण अल्पायु मृत्युको दर २०६६/६७ मा ५१ प्रतिशत रहेकोमा २०७५/७६ मा बढेर ७१ प्रतिशत पुगेको छ।
पछिल्लो तथ्यांकअनुसार नेपालमा मुटुरोगबाट ३० प्रतिशत, क्यान्सरबाट ९ प्रतिशत, मधुमेहबाट ४ प्रतिशत, दीर्घकालीन श्वासप्रश्वास रोगबाट १० प्रतिशत र अन्य नसर्ने रोगबाट १३ प्रतिशत मानिसको ज्यान जाने गरेको छ। क्यान्सर, मधुमेह तथा दीर्घ श्वासप्रश्वासजस्ता नसर्ने रोगबाट बच्न समुदायमै रोग देखिएका व्यक्तिलाई समयमै स्वास्थ्य सेवाको पहुँचमा ल्याउन सबैलाई आग्रह गरिएको छ।
यसै बीच लहान स्थित प्यासिफिक होटेलको सभाहलमा सम्पन्न अभिमुखीकरणको समापन सत्रको अध्यक्ष्यता जिल्ला स्वास्थ्य कार्यलय सिरहाका प्रमुख कृष्ण देव यादवले गर्नु भएको थियो भने प्रमुख अतिथिका रुपमा राम कुमार सारडा उमा प्रसाद मुरारका स्मारक प्रादेशिक अस्पताल लहानको व्यवस्थापन समितिका अध्यक्ष राम नारायण मेहता रहनु भएको थियो। प्रमुख अतिथि मेहताले तीनदिने अभिमुखीकरणको उपलब्धि तथा
पेन–प्लस परियोजना अन्तर्गत संचालित सेवा सुविधाहरु सिरहा जिल्लाको प्रादेशिक अस्पताल लहानमा मात्र संचालनमा रहेको जानकारी गराउनुहुँदै उपस्थित सम्पूर्ण स्वास्थ्यकर्मीलाई सम्बन्धित विरामीलाई सेवा सुविधालिन अस्पतालमा पठाउन आग्रह गर्नुहुँदै अस्पतालले दिरहेका सेवासुविधा बारे जानकारी गराउनु भयो। तीनदिने अभिमुखीकरणमा सहभागी स्वास्थ्यकर्मिहरुले खुसि व्यक्त गर्दै आफुहरुले यस अभिमुखीकरण बाट धेरै कुरा बुझन र सिकन पाएको भन्दै प्रशंसा गर्नुभयो।
सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...
द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...
सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित...
प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...
प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...
प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...